काठमाडौं, वैशाख १८ — सामाजिक सञ्जालमा भाइरल बनेको एउटा भिडियोले जनता समाजवादी पार्टी (जसपा), नेपालकी नेतृ डा. बबीसिंह यादवलाई प्रहरी अनुसन्धानको केन्द्रमा ल्याएको छ।
भिडियोमा उनी पेस्तोल आकासतर्फ ताक्दै पड्काउँदै नाचिरहेको देखिन्छ, जुन दृश्यले सर्वत्र चासोको विषय बनेको छ।
उक्त भिडियो सार्वजनिक भएपछि प्रहरीको ध्यान खिचिएको हो। अहिले यादवमाथि अनुसन्धान अघि बढाइएको छ। जिल्ला प्रहरी कार्यालय, सप्तरीले उनलाई सोधपुछका लागि बोलाएको छ। यादव सप्तरी जिल्लाको बोदे बरसाइन नगरपालिका–५ की बासिन्दा हुन्।
सप्तरीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) ढकेन्द्र खतिवडाले भने, “हामीले उनलाई सोधपुछका लागि बोलाएका छौँ। घटनाबारे स्पष्ट जानकारी पछि मात्र दिन सकिन्छ। प्रयोग भएको पेस्तोल कुन प्रकृतिको हो भन्नेबारे पनि अनुसन्धान भइरहेको छ।”
भिडियोमा देखिएको हतियार कस्तो हो र त्यसको कानुनी हैसियत के हो भन्ने विषयमा प्रहरी अहिले विवरण संकलन गरिरहेको छ। सार्वजनिक स्थान वा सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्नेलाई कानुनले कस्तो व्यवहार गर्छ भन्ने पनि अब स्पष्ट हुँदै जाने छ ।