प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका छन् । भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा उनी आजदेखि २६ कात्तिकसम्मको भ्रमणका लागि ९ सदस्यीय भ्रमण दलसहित नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।
नेपाली सेनाको मध्य एयर बेश, गौचरमा शर्मालाई बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाई गरेका थिए । भारत प्रस्थान गर्नुपूर्व प्रधान सेनापति महारथी शर्मालाई जंगी अड्डामा सम्मान अर्पण गरिएको थियो ।
भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम छ । उनलाई भोलि मानार्थ महारथीको सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
नेपाल र भारतबीच एक–अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम परम्परा छ । नेपालका प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई विसं २०२६ मा पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट विभूषित गरेको अभिलेख रहेको छ । नयाँ दिल्ली भ्रमणका क्रममा प्रधानसेनापति शर्माले समकक्षी जनरल नरवणेलगायत भारतीय सेनाका उच्च पदस्थ अधिकारीसँग समेत भेटवार्ता गर्नेछन् ।