काठमाडौं । आर्थिक वर्ष सकिनै लाग्दा नेपाल प्रहरीको प्रबन्ध निर्देशनालयले २५ करोड बराबरको बन्दोबस्ती सामग्री खरिद प्रतिस्पर्धाविहीन बनाउँदै सेटिङका ठेकेदारलाई ठेक्का दिने तयारी गरेको छ।
ज्ञानेन्द्र बस्नेत समूहका कम्पनीलाई १५ करोडको म्याट्रेस, झोला, ट्राफिक बेल्टलगायत सामान दिनेगरी टेण्डर खोलिएको छ। बस्नेतकै स्पेकअनुसार टेण्डर गरिएकाले अन्य प्रतिस्पर्धी स्वतः असफल हुने स्थितिमा पुगेका छन्।
ठेकेदार राजमान मिश्रले आफ्ना नमूना गुणस्तर विभागको मिलेमतोमा फेल गराइएकाले अनुगमन कार्यालयमा उजुरी दिएका छन्। बंगलादेशको एसजीएस प्रयोगशालाबाट पास गरेका नमूनासमेत फेल गरिएपछि ठेक्कामा बस्नेतलाई मात्रै उन्मुक्ति दिने योजना खुलेको छ।
प्रल्हाद अधिकारीको कम्पनीलाई १ सय २० रुपैयाँको बेतको लट्ठी ८ सय ५० रुपैयाँमा दिने तयारीले खरिदमा पाँच गुणासम्म मूल्य वृद्धि भएको देखिन्छ।
गत वर्ष मात्रै बस्नेत समूहले ६८ करोडको ठेक्का लिएको थियो। यसपटक पनि २५ करोडको ठेक्का उनैलाई मिल्ने निश्चितप्रायः देखिन्छ।