प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी नेपाल प्रहरीभित्र शान्त, इमान्दार र उत्कृष्ट नेतृत्व क्षमताका लागि चिनिन्छन्। हाल काठमाडौं प्रहरी प्रमुखको रुपमा कार्यरत एसएसपी अधिकारी कानुन र शान्ति सुरक्षाको क्षेत्रमा आफ्नो दृढ अडान र नेतृत्वले परिचित छन्।
उत्कृष्ट सेवाको यात्रा
प्रहरी सहायक निरीक्षक (असई) बाट प्रहरी सेवामा प्रवेश गरेका एसएसपी अधिकारीले आफ्नो कार्यकुशलता र प्रतिबद्धताका कारण विभिन्न जिम्मेवारीहरुमा सफलतापूर्वक नेतृत्व प्रदान गरे। मोरङ, कैलाली र सिन्धुपाल्चोकमा प्रहरी प्रमुखको रुपमा उनले देखाएको नेतृत्व क्षमताले उनलाई सफल प्रहरी अधिकृतको रुपमा स्थापित गराएको छ।

कोरोना महामारीको समयमा मोरङ र कैलालीमा एसपीको रुपमा उनले जनताको स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिँदै अपराध नियन्त्रणमा पनि सफलता प्राप्त गरे। तीनै जिल्लामा उनको कार्यशैलीको अहिले पनि प्रशंसा हुने गरेको छ।
काठमाडौंमा दृढ नेतृत्व
एसएसपीमा बढुवा भएपछि विश्व अधिकारीलाई काठमाडौं प्रहरी प्रमुखको रुपमा सरुवा गरियो। काठमाडौंमा उनको कार्यकाल विवाद र चुनौतिहरुले भरिएको थियो। राजावादीहरुको आन्दोलन र शिक्षकहरुको आन्दोलनजस्ता सार्वजनिक प्रदर्शनहरुलाई व्यवस्थापन गर्दै उनले संयम र जिम्मेवारीका साथ नेतृत्व गरे।

प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले एसएसपी अधिकारीको संयमित नेतृत्वको प्रशंसा गर्दै उनले ठूला दुर्घटनाबाट काठमाडौंलाई जोगाएको स्पष्ट पारे। तर केही शक्तिकेन्द्रका विचौलियाहरुले उनलाई बढुवाबाट रोक्न अनेक प्रयास गरे।
कानुनका ज्ञाता प्रहरी
एसएसपी अधिकारी नेपाल प्रहरीभित्र कानुनमा मास्टर्स गर्ने पहिलो प्रहरी अधिकृत हुन्। कानुनी ज्ञान र त्यसको कार्यान्वयनमा उनको अद्वितीय क्षमता छ। उनले १८ वटा देशका प्रहरी अधिकारीहरुलाई प्रशिक्षण दिने अवसर पाएका छन्।
‘प्रहरी मेरो साथी’ नाराका सर्जक
नेपाल प्रहरीको लोकप्रिय नारा ‘प्रहरी मेरो साथी’ का अवधारणाकर्ता एसएसपी अधिकारी हुन्। उनले प्रहरी र जनताबीचको सम्बन्धलाई सकारात्मक बनाउने लक्ष्यका साथ यो नारा अघि सारेका हुन्।
इमान्दार नेतृत्व
काठमाडौं प्रहरी प्रमुखको रुपमा एसएसपी अधिकारीले ‘अपरेसन ९’ योजना कार्यान्वयन गर्दै कानूनी भागेका प्रतिवादीहरुलाई पक्राउ गरी अदालतको फैसला कार्यान्वयन सुनिश्चित गरेका छन्।
उनको स्पष्ट नीतिः राम्रो काम गर्ने प्रहरी पुरस्कृत हुनेछन्, नराम्रो काम गर्ने कारबाहीमा पर्नेछन्। मातहतका प्रहरी कार्यालयहरुमा उनी स्वयं निरीक्षणमा जाने गर्छन् जसले प्रहरी संगठनमा अनुशासन कायम राख्न सघाउँछ।
डिआईजी बढुवाको प्रत्याशी
नेपाल प्रहरीमा हाल १० वटा डिआईजी पद खाली छन्, जसका लागि एसएसपी अधिकारी पनि प्रमुख प्रत्याशी मानिन्छन्। उनी आफ्नो ब्याचबाट पहिलो स्थानमा छन् र उनको इमान्दार र सक्षम छवि उनलाई डिआईजी बढुवाका लागि योग्य बनाउँछ।

एसएसपी विश्व अधिकारीको यात्रा एक प्रतिबद्ध प्रहरी सहायक निरीक्षकदेखि इमान्दार र सक्षम प्रहरी नेतृत्वसम्मको प्रेरणादायक बनेकाे छ ।