काठमाडौं, १६ पुस । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले भौतिक योजना तथा पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई सुरक्षा दिने क्रममा बालकुमारी घटना भएको बताएका छन् ।
सोमबार बिहान सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बयान दिँदै आईजीपी कुँवरले मन्त्री ज्वाला सवार गाडी त्यो दिन युवाहरुको प्रदर्शन भइरहेको ठाउँमा नआएको भए घटना नहुन सक्ने अनुमान गरेका छन् ।
कुँवरले उपत्यकामा मन्त्री ज्वालालाई नै गाडीमै राखेर जलाउन लाग्यो भन्ने अवस्था सिर्जना भएसंगै प्रहरीले धर्यता गुमाएको उल्लेख गरेकाछन्।
विशिष्ट व्यक्तिमाथि उपत्यकामा यो भयो भन्ने बित्तिकै अलिकति धैर्यता गुमाएको जस्तो अवस्था चाहिँ देखिन्छ। हामी सबैलाई थाहा छ, हामी व्यवहारिक बन्नुपर्छ। सिचुएशन फिल्डमा खटिने प्रहरी कर्मचारी हो।
हामीले जे क्याल्कुलेशन गरेका हुन्छौं, त्यहाँ फिल्डमा २ प्लस २ चार हुन्न। त्यहाँ फरक हुन्छ,’ उनले भने।
बालकुमारी घटनामा बल प्रयोग नगरेको भए थप क्षति हुने पनि आइजिपी कुँवरको भनाइ छ।
कुनै घटनाको सामान्य अवस्थामा जाहेर गर्न सक्ने अवस्था हुन्छ। सांसदहरुले बालकुमारी घटना कसरी भयो भनेर आईजीपीको जवाफ माग गरेका थिए । उनीहरुले सुरक्षाकर्मीको भूमिकाका विषयमा पनि प्रश्न उठाएका छन् ।
बालकुमारी घटना: सरकारद्वारा उच्चस्तरीय जाँचबुझ आयोग गठन
सरकारले पूर्व न्यायाधीश शेखर पौडेलको अध्यक्षताका बालकुमारी घटनाको छानबिन गर्न उच्च स्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।
सोमबार(आज) बिहान बसेको मन्त्रिपरिषद् बैठकले सो आयोग गठन गरेको हो ।
बैठकले पौडेलको नेतृत्वमा पूर्व एआइजी अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईलाई आयोगको सदस्य तोकेको छ ।
आयोगलाई प्रतिवेदन बुझाउन एक महिनाको समय दिइएको छ । आयोगले आजैदेखि काम थाल्नेछ ।
उक्त घटनाको छानबिनका लागि गृह मन्त्रालयले यसअघि पुस १३ गते प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
बालकुमारी घटनामा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो भने भौतिक मन्त्री प्रकाश ज्वालाको गाडी आगजनी भएको थियो ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग
यसै बिच सांसद राजेन्द्र राईले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन्। गत सोमबार बिहान दुई जना युवकको प्रहरीको गोलि प्रहारबाट हत्या भएपछि छलफल गर्न बोलाइएको संसदीय समितिको बैठकमा श्रेष्ठकै अगाडि उनले गृहमन्त्रीको राजीनामा मागेका हुन्।