२७ फागनु दाङ । दाङ प्रहरीले साढे चार लाख बढी रकम लुटेर भागेका युवक पक्राउ परेका छन्।
दाङ घोराही उपमहानगरपालिका वडा नं. १३ की ४८ वर्षीया झुमा रोकाले बैंकबाट निकालेर घरतर्फ लैजाँदै गरेको चार लाख ६७ हजार सात सय २० रुपैयाँ लुटेको आरोपमा घोराही- ९ का २४ वर्षीय गणेशकुमार डाँगी पक्राउ परेका हुन्।
डाँगीको साथबाट लुटेर लगेको सबै रकमसमेत बरामद भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले सेतोपाटीलाई जानकारी दिए।
रोका बिहीबार दिउँसो भारतबाट पठाएको रकम निकाल्न गएकी थिइन्।
‘रोकाले दुइटा बैंकबाट रकम निकालेको देखेपछि डाँगीले पिछा गर्दै गएको देखिन्छ,’ एसपी काफ्लेले भने, ‘महिला पैसा निकालेर अटो रिक्सा चढेर घरतर्फ गएपछि पछिपछि गएर घरनजिकै पुगेपछि हिँड्दै गर्दा लुटपाट गरेको खुलेको छ।’
घर नजिकै पुगेपछि अटोरिक्साबाट झरेर पैदल हिँड्ने क्रममा मोटरसाइकलमा सवार डाँगीले पैसा राखेको हाते पर्स खोसेर भागेका थिए।
प्रहरीले डाँगीलाई घोराही १३ बाटै घटना भएको केहीबेरमै पक्राउ गरेको थियो।
‘डाँगीको विगतको रेकर्ड लागुऔषध सेवनकर्ताको रहेको देखियो,’ एसपी काफ्लेले भने, ‘प्रहरी घटनाबारे थप अनुन्धान गर्दैछ।’
पक्राउ परेका डाँगीविरूद्ध लुटपाट तथा चोरी अभियोगमा मुद्दा चलाएर आवश्यक कानुनी कारबाहीको प्रक्रिया सुरू गरिएको उनले बताए।