७ जेठ,काठमाडौं । ट्राफिक प्रहरी प्रभाग गौशालामा दरबन्दी भई हाल यातायात व्यवस्था विभाग, मीनभवन काठमाडौंमा कार्यरत प्रहरी जवान नरेश याम्फु राईलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बैशाख महिनाको “BEST TRAFFIC POLICE OF THE MONTH” घोषणा गरेको छ।
प्रहरी जवान राईले यातायात व्यवस्था विभाग मीनभवन र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबीचको अन्तरनिकाय समन्वयलाई थप सुदृढ र प्रभावकारी बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेका थिए। सेवाग्राहीहरूलाई छिटो, सहज र पारदर्शी सेवा उपलब्ध गराउन उनले विशेष पहल गरेका थिए।
बिचौलियाहरूको संलग्नता न्यूनिकरण, विभागीय तथा ट्राफिक प्रहरी कर्मचारीहरूसँग संयुक्त रूपमा गरिएको अनुगमनलाई प्रभावकारी बनाउने, दुर्घटना गरी फरार भएका सवारी चालकहरूको खोजी तथा नक्कली लाइसेन्स पहिचान गर्ने कार्यमा सक्रियता देखाएकाले उनको कार्यको उच्च मूल्याङ्कन गरिएको हो।
त्यसैगरी, विभागीय नीति, निर्देशन तथा आदेशहरूको पालना गर्दै उनले देखाएको कार्यकुशलता, समन्वय क्षमता र इमान्दारिताका आधारमा उनलाई यो सम्मान प्रदान गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
उक्त सम्मानले अन्य ट्राफिक प्रहरीहरूलाई पनि सेवा प्रवाहमा अझ सक्षम र प्रेरित बन्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।