रुकुम पश्चिम । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम पुग्नुभएको छ ।
भूकम्प आएलगत्तै त्यस क्षेत्रतर्फ जानुभएका केसीले दुवै जिल्लामा भएको क्षति तथा राहत वितरणबारे जानकारी लिनुभएको छ ।
अध्यक्ष केसीले प्रभावित क्षेत्रका जनतासँगै दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग भेट गरी राहत वितरणबारे चासो राख्नुभएको केसीसँगै प्रभावित क्षेत्र पुग्नुभएका अखिल (छैठौं)का अध्यक्ष देवेन्द्र कुँवरले जानकारी दिनुभयो ।
जाजरकोट र रुकुमपश्चिमका सिडिओसँग भएको बेग्लाबेग्लै भेटमा अध्यक्ष केसीले संकलन भएको राहत पीडितलाई प्रभावकारी ढंगले बाँड्न आग्रह गर्नुभयो ।
‘अहिले संकलन भएर प्राप्त राहत तपाइँहरुले प्रभावकारी ढंगले बाँड्नुहोस् । पीडितहरुलाई आवश्यक थप कुराबारे सरकारसँग कुरा गर्छौं’ केसीले भन्नुभयो, ‘खासगरेर भूकम्प पीडितका लागि सरकारले घर बनाइदिनुपर्छ । त्यसबारे दबाब दिनेछौँ ।’
जवाफमा रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले आफूहरुले केन्द्रबाट आएको राहत एकद्वारा प्रणालीमार्फत वितरण गरिरहेको जानकारी दिनुभयो । त्यसले गर्दा कहिँ राहत दोहोरिने र कहिँ नपुग्ने जस्ता समस्या नरहेको उहाँको भनाई थियो ।
बरु पीडितलाई आवश्यक पर्नेजति राहत अझै दिन नसकिएको प्रजिअ पन्तले बताउनुभयो ।

यस्तै, जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले पनि जे जति राहत आएको एकद्वार प्रणाली अनुसार नै वितरण भइरहेको बताउनुभयो ।
प्रजिअ बडुवालले भूकम्पका कारण क्षति भएका भौतिक संरचनाको तथ्यांक प्रस्तुत गर्दै पूनर्निर्माणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष केसीले क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माण गर्नुपर्ने दायित्व सरकारको भएको उल्लेख गर्दै जनताका आवास, विद्यालय, अस्पताल, बाटो, सार्वजनिक भवनहरू सबै छिटो निर्माणका लागि सर्वदलीय बैठक र प्रधानमन्त्रीसँग भेटेर पनि कुरा दबाब दिने प्रतिवद्धता जाहेर गर्नुभयो ।
भूकम्प प्रभावित क्षेत्रमा तीन दिन घुमेर अध्यक्ष केसी आज (बिहीबार) बुटवल फर्कनुभएको छोरा विष्णु केसीले जानकारी दिनुभयो ।
यही कात्तिक १७ गते राति गएको विनासकारी भूकम्पबाट जाजरकोट र रुकुमपश्चिमसहति आठ जिल्लामा व्यापक क्षति भएको छ ।
