• ट्रेण्डिङ :

महासचिव देव गुरुङद्वारा तराई-मधेश र मध्यपहाडी क्षेत्रका योजनाहरू अर्थमन्त्री समक्ष पेस

महासचिव देव गुरुङद्वारा तराई-मधेश र मध्यपहाडी क्षेत्रका योजनाहरू अर्थमन्त्री समक्ष पेस

cnewsnepal

मंगलबार, जेष्ठ १३ २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


१३ जेठ,काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देव गुरुङले हुलाकी राजमार्ग केन्द्रित ‘तराई मधेश जागरण अभियान’ र मध्य पहाडी पुष्पलाल मार्ग केन्द्रित ‘जागरण अभियान’ अन्तर्गत संकलित विकास योजनाहरू अर्थमन्त्री बिष्णु पौडेलसमक्ष पेस गरेका छन्।

जागरण अभियानका क्रममा पालिका जनप्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, नागरिक समाजका अगुवा तथा स्थानीय संघसंस्थाहरूसँगको छलफलबाट संकलन गरिएका योजनाहरू समावेश गर्दै गुरुङले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा यी योजना समावेश गर्न माग गरेका हुन्।

गुरुङले अर्थमन्त्री समक्ष बुझाएको योजनामा पूर्व–पश्चिम हुलाकी राजमार्ग र मध्य पहाडी पुष्पलाल लोकमार्गसँग सम्बन्धित भौतिक पूर्वाधार, सिँचाइ, शिक्षा, स्वास्थ्य, ऊर्जा र रोजगारीसँग जोडिएका परियोजनाहरू उल्लेख छन्। यी योजनाहरू लामो समयदेखि स्थानीय तहमा माग भइरहेका र राज्यको उपेक्षाको शिकार बनिरहेका भन्दै उनले प्राथमिकता दिइनुपर्ने बताएका छन्।

महासचिव गुरुङका अनुसार अभियानका क्रममा गाउँपालिका, नगरपालिका र महानगरपालिकाका जनप्रतिनिधिहरूबाट स्थानीय विकासका लागि अत्यावश्यक परियोजनाहरूको सूची संकलन गरिएको थियो। “जागरण अभियानको मूल उद्देश्य जनताको प्राथमिकता बुझ्ने र जनस्तरमा योजना निर्माणको अभ्यास विकास गर्ने हो,” उनले भने।

उनले अझै पनि नीति निर्माण तहमा स्थानीय आवाज पुग्न नसकेको उल्लेख गर्दै अर्थमन्त्रीसमक्ष बुझाइएको योजनासँगै सरकारको ध्यान आकृष्ट गराएका छन्। गुरुङले समावेशी विकास र क्षेत्रीय सन्तुलनको लागि यी योजनाहरूको कार्यान्वयन अपरिहार्य रहेको उल्लेख गरे।

यसअघि माओवादी केन्द्रले देशका विभिन्न भूगोललाई समेट्ने गरी ‘जनजागरण अभियान’ संचालन गर्दै आएको छ। हुलाकी राजमार्ग र पुष्पलाल लोकमार्ग केन्द्रित अभियानले जनस्तरमा विकासप्रति आशा जगाउने काम गरेको र यसलाई आगामी बजेटमा सम्बोधन गर्नु सरकारको उत्तरदायित्व भएको जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार