• ट्रेण्डिङ :

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ

cnewsnepal

बिहिबार, साउन १४ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


पर्सा, १४ साउन ।  मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा २ जनालाई वीरगंज महानगरपालिका-१६ इनर्वाबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता ओमप्रकाश खनालले पक्राउ पर्नेहरुमा झापा विर्तामोड-९ ठेगाना भएकी २० वर्षीया लक्ष्मी दास र सुनसरी इटहरी उपमहानगरपालिका-१२ ठेगाना भएकी १९ वर्षीया खुश्बु विश्वकर्मा रहेका बताए  ।

प्रवक्ता खनालका अनुसार झापाबाट १६ वर्षीया किशोरी र २० वर्षीया युवतीलाई भारतको विहार राज्यस्थित छौँडादानो भन्ने स्थानमा पुर्‍याई बेचबिखन भइरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले भारतीय काउन्टरपार्ट्ससँगको समन्वयमा उनीहरुको उद्धार गरेको थियो ।

थप अनुसन्धानको क्रममा उनीहरुले ती किशोरी र युवतीलाई वीरगंजमा अर्केष्ट्रामा आकर्षक तलब हुने काम लगाइदिने प्रलोभनमा पारी वीरगंज बसपार्कसम्म ल्याई काम गर्ने ठाउँसम्म पुर्‍याउने भन्दै झुक्याई भारत बिहारको छौँडादानो भन्ने स्थानमा लगी भारतकै अन्यत्र पठाउन खोजेको खुल्न आएको छ ।

उनीहरु उपर जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप गरी मानव बेचबिखन कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । साथै उक्त घटनामा संलग्न हाल फरार अन्य ३ जनाको समेत प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार