• ट्रेण्डिङ :

मेलम्ची बाढी अपडेट : सत्र घर टहरा बगायो

मेलम्ची बाढी अपडेट : सत्र घर टहरा बगायो

cnewsnepal

आइतबार, साउन १७ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


१७ साउन  सिन्धुपाल्चोक । शनिबार रातिदेखि आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका १७ घर टहरा बगाएको छ ।

ती मध्ये नौ पक्की र आठ कच्ची रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए।

उनका अनुसार गत असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर गएरातिको बाढीले बगाएको हो । ती घरटहरा खाली थिए । बाढीले चनौटेको रातो पुल बगाएको छ ।

स्थानीयवासी हस्त पण्डितले दिएकाे जानकारी अनुसार  वाढीले आज विहान पुल बगाएको हो ।  मेलम्ची– ७ र ८, पाँचपोखरी– १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एकमात्र विकल्पका रुपमा यो पुल रहेको थियो ।

पुल बगाएसँगै अब यो भेगमा सवारी आवतजावत बन्द  छ ।

त्यस्तै ग्यालथुममा रहेको झोलुङ्गे पुल पनि वाढीले बगाएको छ । बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा पनि बगाएको छ ।

मेलम्ची बजारदेखिमाथि  पुल बाँकी नरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले जानकारी दिनुभयो । खोलामा लेदोसहितको बाढी आएको र बाढी घट्ने, बढ्ने भइरहेको उनले बताए ।

हेलम्बु राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा मेलम्चीबाट हेलम्बु सवारीसाधन जान नसकेको मेलम्ची नगर प्रमुख डम्बर अर्यालले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार