१० बैशाख काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)का उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नाहयान दुईदिने नेपाल भ्रमणका लागि मंगलबार राति काठमाडौँ अवतरण गरेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, परराष्ट्र सचिव अमृतबहादुर राई लगायत वरिष्ठ सरकारी अधिकारीहरूले स्वागत गरे।
उक्त भ्रमणलाई नेपाल–यूएई कूटनीतिक सम्बन्ध सुदृढीकरणका लागि एक महत्वपूर्ण अवसरको रूपमा हेरिएको छ। आज अपराह्न शेख नाहयानले विभिन्न उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाटहरूमा सहभागी हुने कार्यक्रम रहेको छ। सोही दिन साँझ उनी युएई फर्किने तालिका छ।
शेख नाहयानको नेतृत्वमा आएको प्रतिनिधिमण्डलमा यूएईका परराष्ट्र राज्यमन्त्री अहमद अली मोहम्मद अल सायेघ, आर्थिक तथा व्यापार मामिला सहायकमन्त्री सईद मुबारक राशिद अलहजेरी, ऊर्जा तथा दिगोपन मामिला सहायकमन्त्री अब्दुल्ला बलाला, नेपालस्थित युएई राजदूत अब्दुल्ला जरवान अलशाम्सी सहित युएई सरकारका अन्य वरिष्ठ पदाधिकारीहरू सहभागी छन्।
भ्रमणका क्रममा श्रम, लगानी, ऊर्जाजस्ता क्षेत्रहरूमा सहकार्य विस्तार गर्ने विषयमा केन्द्रित संवादहरू हुने अपेक्षा गरिएको छ। नेपाल र यूएईबीचको द्विपक्षीय सम्बन्ध पछिल्ला वर्षहरूमा झनै सघन बन्दै गइरहेको छ, र यो भ्रमणले ती सम्बन्धहरूलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ।