• ट्रेण्डिङ :

रसुवा बाढीमा फसेकाको यसरी उद्धार, अझै १३ जन बेपत्ता

रसुवा बाढीमा फसेकाको यसरी उद्धार, अझै १३ जन बेपत्ता

cnewsnepal

बिहिबार, असार २६ २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


रसुवा । रसुवा बाढीमा फसेका सर्वसाधारणको अहिले पनि उद्धार भइरहेको छ ।

२४ असार मध्यराति भोटेकोशीमा आएको विनासकारी बाढीका कारण धुन्चे, टिमुरे, स्याफ्रुबेसी लगायतका क्षेत्रमा फसेकाहरूको उद्धार भइरहेको हो ।

बाढी आउँदा रसुवाका विभिन्न क्षेत्रमा फसेकाहरूलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरिरहेको छ ।

सुरक्षाकर्मीको टोलीले पदमार्ग बनाएर सुरक्षित स्थानतर्फ लाने काम गरिरहेको हो ।

बाढीमा परेर अहिले पनि ३ जना प्रहरीसहित १४ जना नेपाली र ६ जना चिनियाँ नागरिक बेपत्ता छन् ।

हालसम्म ४ जनाको शव र ५ वटा मानव अंग फेला परेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । फेला परेका शवमध्ये एक जनाको मात्रै पहिचान खुलेको छ ।

अन्य शव र मानव अंग परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज पठाइएको छ ।

शव तथा मानवअंग धादिङ्गको गजुरी गाउँपालिका–६ बेल्खु, गल्छी गाउँपालिका–२ केउरेनिटार, बेनिघाट रोराङ गाउँपालिका–३ लामाबगर र चरौदी, गजुरी गाउँपालिका–२ मलेखु, नुवाकोट जिल्लाको विदुर–३ शिरखाली र मरनपाटी, रसुवाको उत्तरगया गाउँपालिका–५ उत्तरगयाधाम खोलाको किनारा तथा त्रिशुली नदीको किनारामा फेला परेको थियो ।

बाढीले ४२ वटा ईभी गाडी, २३ वटा कार्गोसहितको कन्टेनर ट्रक, ६ वटा ट्रक लगायत लोेडर, एक्साभेटर, ८ वटा हेभी इक्युपमेन्ट, ३० वटा वेल्डिङ मेसीन र २० वटा ग्राण्डिङ मेसिन बगाएको छ ।

सीमाको पुल नै बाढीले बगाएपछि चीनसँगको व्यापार र आवतजावत पूर्ण ठप्प छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार