
सिङ्गो देश नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरेको बताउँदै उहाँले भन्नुभएकाे छ, ‘एकताको यस राष्ट्रिय पुँजीलाई हामीले देश निर्माणको आधारस्तम्भका रुपमा आत्मसात् गरेका छौँ । हाम्रा सांस्कृतिक विविधतालाई विग्रह र द्वन्द्वको अवसरका रुपमा दुरुपयोग गर्न बेलाबेला भएका दुष्प्रयासहरूलाई पनि हामीले आपसी एकताद्वारा पराजित गर्दै राष्ट्रिय एकता, स्वाधीनता, स्वतन्त्रता र राष्ट्रिय अखण्डताको रक्षा गर्दै आएका छौँ ।’
प्रधानमन्त्री ओलीले काेराेना महामारीबाट बच्न विशेष सतर्कता अपनाउँदै नेपाल सम्वत् लगायत पर्व मनाउन आह्वानसमेत गर्नुभयाे । नेपाली समाज बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषतायुक्त भएकाे र सुदृढ राष्ट्रिय एकताको जगमा उभिएको जनाउँदै यहाँका विविधतायुक्त मौलिक परम्परा सिङ्गो राष्ट्रका साझा पुँजीका रूपमा अङ्कित रहेको उल्लेख गर्नुभयो ।
शङ्खधर साख्वाःले ऋणमा डुबेर दासत्वको जीवन बिताइरहेका सर्वसाधारणलाई ऋणबाट मुक्त बनाइ स्वतन्त्रता दिलाउनुभएको दिनलाई प्राचीन कालदेखि नेपाल सम्वतका रूपमा मनाइँदै आइएको छ ।
