१३ जेठ,काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रपति रामचन्द्र पौडेललाई आर्थिक वर्ष २०८२/८३ को बजेटका विषयमा विस्तृत जानकारी गराएका छन् ।
सरकारले आगामी जेठ १५ गते बिहीबार संविधानबमोजिम संसद्मा बजेट प्रस्तुत गर्ने तयारी गरिरहेको छ। त्यसअघि मंगलबार अर्थमन्त्री पौडेल राष्ट्रपति भवन शीतल निवास पुगेर बजेटको प्रमुख तत्त्व, नीति तथा कार्यक्रम, प्राथमिकता र सरकारी तयारीका बारेमा राष्ट्रपति पौडेललाई ब्रिफिङ गरेका हुुन् ।
राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार अर्थमन्त्री पौडेलले मुलुकको समष्टिगत आर्थिक अवस्था, राजस्व सङ्कलनको प्रवृत्ति, खर्चको अवस्था, चालू तथा पूँजीगत खर्चको सन्तुलन, आगामी बजेटले लिने आर्थिक नीति, बेरोजगारी न्यूनीकरण, विकास निर्माणको गति, महँगी नियन्त्रण लगायतका विषयमा राष्ट्रपति समक्ष जानकारी गराएका थिए।
त्यस्तै, ब्रिफिङमा चालू आर्थिक वर्षका मुख्य उपलब्धि र चुनौतीबारे पनि चर्चा गरिएको थियो। अर्थमन्त्री पौडेलले चालू वर्षमा देखिएको आर्थिक सुस्ती, लगानीमैत्री वातावरण सिर्जनाको प्रयास, निजी क्षेत्रको सहभागिता अभिवृद्धि, र विकास योजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि उठाइने कदमहरूबारे समेत जानकारी गराका थिए।
राष्ट्रपति पौडेलले अर्थमन्त्री पौडेलको प्रस्तुतीकरण सुनेपछि बजेटमार्फत जनताको जीवनस्तर उकास्ने र देशको आर्थिक विकासमा सकारात्मक सन्देश दिने कार्य गर्नुपर्नेमा जोड दिनुभएको स्वकीय सचिवालयले जनाएको छ। उनले बजेट जनमुखी, समावेशी र व्यावहारिक हुनुपर्ने धारणा राखे।
सरकारले आगामी बजेटमार्फत प्राथमिकताका क्षेत्रहरूमा विशेष ध्यान दिने तयारी गरेको छ। स्वास्थ्य, शिक्षा, कृषि, ऊर्जा, पूर्वाधार, रोजगारी सिर्जना र सामाजिक सुरक्षा लगायतका क्षेत्रलाई बजेटमा प्राथमिकता दिने संकेत अर्थमन्त्रीले ब्रिफिङमा दिएकाे बताइएको छ।
संविधानअनुसार प्रत्येक वर्ष जेठ १५ गते सरकारले आर्थिक वर्षको अनुमानित आय-व्यय विवरण अर्थात् बजेट संघीय संसद्मा प्रस्तुत गर्नुपर्ने व्यवस्था छ। आगामी बजेट संघीय सरकारको आठौँ बजेट हुने छ भने अर्थमन्त्री विष्णु पौडेलले तेस्रोपटक बजेट प्रस्तुत गर्न लागेका हुन् ।
भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त