• ट्रेण्डिङ :

राष्ट्रपति रामचन्द्र पौडेलको शुभकामना: “योग अभ्यासले मानव जीवनलाई सन्तुलित, स्वस्थ र उन्नत बनाउँछ”

राष्ट्रपति रामचन्द्र पौडेलको शुभकामना: “योग अभ्यासले मानव जीवनलाई सन्तुलित, स्वस्थ र उन्नत बनाउँछ”

cnewsnepal

शुक्रबार, असार ६ २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


 

काठमाडौं, असार ७ गते – राष्ट्रपति रामचन्द्र पौडेलले ११औँ अन्तर्राष्ट्रिय योग दिवस (जुन २१, २०२५) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन्।

शीतल निवासबाट जारी शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसंघको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ मा पारित प्रस्तावअनुसार सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउन थालिएको स्मरण गराए। उनले यस वर्षको दिवस “सिंगो पृथ्वी र मानव स्वास्थ्यका लागि योग” भन्ने आदर्श वाक्यका साथ मनाइँदै गरेको उल्लेख गरे।

राष्ट्रपतिले योगलाई वैज्ञानिक मानवीय जीवनशैलीको रूपमा व्याख्या गर्दै भने, “योग, ध्यान र साधनाले शरीर, मन र आत्मालाई सन्तुलनमा ल्याउने, तनाव हटाउने, सकारात्मक ऊर्जा दिने र आत्मप्रेरणा जगाउने विशेषता बोकेको छ।” उनका अनुसार योग अभ्यासले दैनिक कार्यक्षमता, रोग प्रतिरोधात्मक शक्ति र सकारात्मक सोचमा समेत वृद्धि गराउँछ।

शुभकामना सन्देशमा राष्ट्रपतिले नेपालको सांस्कृतिक सम्पदा र पुरातात्विक प्रमाणहरूले नेपाललाई योगभूमिका रूपमा पुष्टि गर्दै आएको उल्लेख गर्दै योगलाई राष्ट्रिय नीति, शैक्षिक पाठ्यक्रम र जनस्वास्थ्यको क्षेत्रमा समावेश गरेर यस क्षेत्रको विकासमा थप कार्य गर्न आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।

“विश्वव्यापी रूपमा एकता, शान्ति र स्वास्थ्यको सन्देश प्रवाह गर्ने योग, पूर्वीय ज्ञान र संस्कृतिको अभिन्न अंश हो। आजको जटिल, तनावपूर्ण र प्रतिस्पर्धायुक्त जीवनशैलीलाई सहज, सरल र स्वस्थ बनाउने उपायको रूपमा योगलाई आत्मसात गर्नु आवश्यक छ,” राष्ट्रपति पौडेलले भने।

उनले सबैलाई योग अभ्यासलाई निरन्तर जीवनशैलीको अङ्गका रूपमा अंगीकार गरी शारीरिक र मानसिक रुपमा स्वस्थ, सशक्त तथा सुखी जीवन यापन गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार