बर्दिया, १७ साउन । प्रहरीले विभिन्न धनमाल चोरी गरेको अभियोगमा ३ जना पक्राउ गरेकाे छ ।
भारत राइपुर सेईबजार मुजगाहान “शंकराचार्य कलेज” का अध्यक्ष निशान त्रिपाठीको
घरबाट विभिन्न धनमाल चोरी गरेको अभियोगमा ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ
गरेको हाे ।
पक्राउ पर्नेहरुमा निशानकै घरमा काम गर्ने बर्दिया ठाकुरबाबा नगरपालिका-४ बाउनपुर
गाउँ बस्ने २२ वर्षीय जनक थापा, सोही ठाउँ बस्ने ४६ वर्षीय नर बहादुर थापा र उनकै दाइ ४८
वर्षीय छत्र बहादुर थापा रहेका छन् ।
उनीहरुले शुक्रबार निशानको घरमा कोही नभएको अवस्थामा नगद १३ लाख भारतीय
रुपैयाँ र करिब १५ तोला बराबरको हिरा जडित विभिन्न सुनका गहना चोरी ल्याएको भन्ने
खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद
१७ लाख ५० हजार नेपाली रुपैयाँ र उक्त गहना सहित उनीहरुकै घर ठेगानाबाट पक्राउ गरेको
थियाे ।
साथै उनीहरुबाट बरामद गरेको नगद तथा गहना प्रहरीले सम्बन्धित धनीलाई बुझाएको
छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।