८ मंसिर,काठमाडौं । विश्व महिला आन्दोलनको सैद्धान्तिक आधार, साम्राज्यवादविरुद्धको संयुक्त प्रतिरोध र लैङ्गिक समानताका मुद्दामा अन्तर्राष्ट्रिय बहसलाई नयाँ दिशा दिने उद्देश्यसहित विश्व महिला सम्मेलनको सैद्धान्तिक सेमिनार यही मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंको कपनमा आयोजना हुने भएको छ।
यसबारे जानकारी आज रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।
कार्यक्रमबारे जानकारी दिंदै एसिया कोअर्डिनेटर दुर्गा पाँडेलले वर्तमान विश्व परिस्थिति महिलामुक्तिको आन्दोलनका लागि अत्यन्त चुनौतीपूर्ण बनेकाले सैद्धान्तिक रूपमा स्पष्ट संगठन र दिशा अत्यावश्यक रहेको बताइन्।
पाँडेलका अनुसार विश्व अहिले युद्ध, साम्राज्यवादी प्रतिस्पर्धा, फासीवादी प्रवृत्ति र आर्थिक संकटका कारण ऐतिहासिक मोडमा पुगेको छ। उनले भनिन् “युद्ध तीव्र छन्, साम्राज्यवादी वर्चस्वको संघर्ष जटिल हुँदैछ। उत्पीडन, शोषण र लैङ्गिक विभेद थप गहिरो बनेका छन्। महिलामाथिको दमनको जरो साम्राज्यवादमै छ, त्यसैले वैचारिक र राजनीतिक दिशाबिना महिलामुक्तिको लडाइँ सफल हुँदैन।”
उनका अनुसार आणविक युद्धका खतरा तथा फासीवादको पुनरुत्थानले मानव अस्तित्वमै प्रश्न उठाइरहेको बेला विश्वका महिलाहरूले आफ्नो भूमिका अझ व्यापक रूपमा बुझ्नुपर्ने समय आएको छ।
ट्युनिसको निर्णय अनुसार दोस्रो सैद्धान्तिक सेमिनार
सन् २०२२ मा ट्युनिसमा सम्पन्न तेस्रो विश्व महिला सम्मेलनले महिला शोषण र उत्पीडनको मूल कारण साम्राज्यवाद रहेको निष्कर्ष निकालेको र दोस्रो सैद्धान्तिक सेमिनार आयोजना गर्ने निर्णय गरेको बारे पाँडेलले स्मरण गरिन्।
उनले भनिन्“महिलाहरूको दोहोरो शोषण, जातिवाद, लैङ्गिक विभेद, अवसरवाद र कम्युनिस्ट विरोधी सोचविरुद्ध विश्वभर महिला आन्दोलन उठिरहेको छ। तर आन्दोलन बलियो हुन सही वैचारिक मार्गदर्शन अपरिहार्य छ।”
काठमाडौंमा हुने तीनदिने सैद्धान्तिक सेमिनारमा विशेष रूपमा निम्न विषयहरूमा छलफल हुनेछ,साम्राज्यवादका राजनीतिक–आर्थिक आधारको अध्ययन,विश्वभर महिलाले हासिल गरेका अधिकार किन पछि धकेलिँदैछन् ? अन्तर्राष्ट्रिय महिला आन्दोलन कसरी अजेय सामाजिक शक्ति बन्न सक्छ ?
जातिवाद, लैङ्गिक विभेद, उत्तरआधुनिकतावाद, अवसरवाद र दुहेरी शोषणबिरुद्ध रणनीति,महिला मुक्तिको दीर्घकालीन दिशा, सिद्धान्त र भावी नक्सा
२० भन्दा बढी देशका महिला सहभागी
सेमिनारमा एशिया, युरोप, अफ्रिका र अमेरिका गरी चार महादेशका २० भन्दा बढी देशका महिला प्रतिनिधिहरू सहभागी हुने जानकारी दिइयो। कार्यक्रमलाई विश्व महिला आन्दोलनको वैचारिक ऐक्यबद्धता र साझा संघर्षको शक्तिशाली मञ्चका रूपमा हेरिएको छ।
“नेपालमा हुने अन्तर्राष्ट्रिय छलफल ऐतिहासिक” पाँडेल
एसिया कोअर्डिनेटर दुर्गा पाँडेलले नेपाली जनताको सहयोग र साथबिना यस्तो कार्यक्रम सफल नहुने उल्लेख गर्दै भनिन्—
“महिलामाथिको शोषण अन्त्य गर्ने लक्ष्यसहित नेपालमा अन्तर्राष्ट्रिय सैद्धान्तिक बहस हुनु स्वयं ऐतिहासिक घटना हो। यो सेमिनारले महिलामुक्तिको वैश्विक दृष्टिकोण निर्माणमा थप योगदान गर्नेछ।”