२० जेठ,काठमाडौं । काठमाडौँ जिल्ला चन्द्रागिरि नगरपालिका वडा नम्बर १०, सतुङगलस्थित बिगमार्ट नजिकैको मुख्य सडकमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी ६० वर्षीया मयजुमति महर्जनको उपचारका क्रममा निधन भएको छ।
जेष्ठ १५ गते बिहान करिब ८:३० बजे कलंकीबाट थानकोटतर्फ गइरहेको बा.६८ प.३०३८ नम्बरको कालो रंगको सुजुकी जिक्सर मोटरसाइकलले पैदलयात्री महर्जनलाई ठक्कर दिएको थियो। दुर्घटनापछि उनी गम्भीर घाइते भइ तत्कालै उनका भतिज प्रितम महर्जनले बलम्बुस्थित नेपाल सशस्त्र प्रहरी बल अस्पतालमा भर्ना गराएका थिए।
उपचारका क्रममा टाउकोमा गहिरो चोट लागेको र दाहिने कानबाट रगत बगेको अवस्था रहेको अस्पताल स्रोतले जनाएको छ। लगातार पाँच दिनको उपचारपछि, जेष्ठ २० गते मंगलबार, महर्जनको निधन भएको हो।
घटनाको जानकारी पाएपछि प्र.ब.ना.नि विनोद विक्रम बस्नेतको कमाण्डमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनास्थल प्रहरी प्रभाग बलम्बुबाट करिब ५०० मिटर उत्तरतर्फ पर्दछ।