कस्तुरीको वीना सहित ३ जना पक्राउ

काठमाडौं, ३० बैशाख संरक्षित वन्यजन्तु कस्तुरीको वीना सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
काठमाण्डौं महानगरपालिका २६ भगवानबहालबाट करिब २१ ग्राम तौल भएको संरक्षित वन्यजन्तु कस्तुरीको वीना सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा स्याङजा भिरकोट गाउँपालिका ३ का ३८ वर्षीय चित्रबहदुर थापा, संखुवासभा मकालु गाउँपालिका ३ का ३८ वर्षीय ईन्द्र कुमार राई र संखुवासभा मकालु गाउँपालिका ३ का २८ वर्षीय सन्देश अछामे रहेका छन् ।

वन्य जन्तुसँग सम्बन्धित अपराध अनुसन्धान तथा रोकथामको लागि केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त बस्तु सहित फेला पारी पक्राउ गरेको हो । उक्त स्थानमा संरक्षित वन्यजन्तुको कस्तुरीको वीना अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचना आधारमा प्रहरी टोली खटिएको थियो ।

पक्राउ तीनै जनालाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार, काठमाडौं पठाइएको ब्यूरोले जनाएको छ ।