धनुषा । धनुषा स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको थुनुवा कक्ष फोडेर फरार भएका ६ थुनुवा मध्ये एक जना धनुषा प्रहरीको फन्दामा परेकाछन् । अन्य पाँच जनाको खोजी तीव्र पारिएको धनुषा प्रहरीले जनाएको छ ।
हातहतियार तथा खरखजाना मुद्दाका आरोपित २८ वर्षीय रोशन महतो सोमबार पक्राउ परिसकेका छन् । प्रहरीले उनलाई फरार भएको १२ घण्टा नबित्दै उनी पक्राउ परेकाहुन् । आइतबार राति महतोसहित थुनुवा कक्ष फोडेर ६ जना विभिन्न मुद्दाका आरोपि फरार भएका थिए ।
धनुषा मिथिला नगरपालिका ५ का महतो यही माघ १२ गते नक्टाझिजबाट हतियार (पेस्तोल)सहित पक्राउ परेका थिए । उनी चार दिन थुनामा बसेका थिए । उनलाई प्रहरीले हतियार खरिद–बिक्री गर्ने गरेको आरोपमा पक्राउ गरेको थियो । यही मुद्दामा फरार भएका उनका साथी शंकर महतो भने अझै फरार छ । सुरुमा शंकर रोशनकै बयानपछि पक्राउ परेका थिए । महतोद्वयलाई प्रहरीले गत शनिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको थियो ।
यस्तै, अभद्र व्यवहार मुद्दामा यही माघ १० गते पक्राउ परेका मिथिला नगरपालिका २ का २५ वर्षीय हरिदीप सिंह पनि फरार छन् । उनमाथि सात दिन म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेका थिए । हरिदीप पाँच दिन उक्त थुनामा बसेर उनीहरुसँग फरार भएका छन् ।
लागू औषध मुद्दामा पुस २८ गते पक्राउ परेका क्षीरेश्वरनाथ नगरपालिका ५ का ३० वर्षीय विनोद कुमार शर्मा पनि फरार छन् । उनी १८ दिनदेखि थुनामा बसेका थिए । दुई पटक उनको म्याद थप भएको थियो । तर प्रहरीको अनुसन्धान पूरा नभएको हुनाले उनलाई थुनामै राखिएको थियो ।
यस्तै, पक्राउ परेका क्षीरेश्वरनाथ नगरपालिका २ का २५ वर्षीय अमित मण्डल र रोशन यादव पनि फरार छन् । यी दुबै जना १२ दिनदेखि थुनामा थिए । उनीहरु थुनुवा कक्षको भिता फुटाएर आइतबार राति २ देखि ४ बजेको समयमा फरार भएको प्रहरीले जनाएको छ ।
दुई वटा समिति गठन
इलाकाको नेतृत्व गरिरहेको प्रहरी निरीक्षक ९इन्सपेक्टर०बेचन यादवमाथि छानबिन अघि बढाइएको छ । दुई वटा छानबिन समितिले उनी र त्यहा कार्यरत प्रहरी माथी अनुसन्धान गरिरहेको छ । वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० मनोज यादवको नेतृत्वमा मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ । यस्तै, जिल्ला प्रहरी कार्यालय धनुषाले पनि प्रहरी नायव उपरीक्षक ९डिएसपी० प्रदीपबहादुर क्षेत्रीको संयोजकत्वमा पाँच सदस्य छानबिन समिति गठन गरेको छ ।
थुनुवा फरार भएपछि इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेचन यादव पटक पटक विवादमा तानिएका प्रहरी अधिकृत हुन्। लामो समय देखि इलाका प्रहरी कार्यालय महेन्द्र नगरको इन्चार्जमा रहेका यादव यसअघि पनि पटक पटक विवादमा तानिएका थिए । यादव यसअघि महिला प्रहरीलाई दुर्व्यवहार गर्दा विवादमा तानिएका थिए ।
इप्रका महेन्द्रनगरमा इन्स्पेक्टर कार्कीको कमाण्डमा पुरै सेट परिवर्तन
इलाका प्रहरी कार्यालय महेन्द्रनगरको थुनुवा कक्ष फोडेर बन्दी फरार भए पछि नयाँ कमाण्डर पठाइएको छ । उक्त कार्यालयको सम्पुर्ण प्रहरी कर्मचारी फिर्ता बोलाएर इन्स्पेक्टर दिपक कार्कीको कमाण्डमा सेट परिवर्तन गरिएको हो । दिपक कार्कीलाई काठमाडौं हेडक्वाटरले खटाएको स्रोतले जनाएको छ ।