करीब ३० वर्षअघि एक नेपाली युवतीलाई भारतको मुम्बईमा रहेको वेश्यालयमा बेचेर फरार भएका ६७ वर्षीय चमार तामाङ (उर्फ चमारे) लाई प्रहरीले पक्राउ गरेको छ।
मानव बेचबिखन अनुसन्धान व्युराेकाे टाेलीले जिल्ला सिन्धुपाल्चोक, हाल पाँचपोखरी थाङपाल गाउँपालिका–७, खोगेका चमारेलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
घटना क्रम यस्तो थियाे
पीडित युवती काठमाडौंको चावहिलमा गलैचा बुनेको कारखानामा काम गरिरहेकी थिइन्। त्यही बेलामा चमार तामाङले “यो कामले टीबी लाग्छ, हङकङ गएर सुनको व्यापार गरौँ, तिमी जस्तो केटीले धेरै सुन ल्याउन सक्छ्यौ” भनेर फकाएर उनलाई मुम्बईसम्म पुर्याए।
२०४४ साल मंसिर १९ गते दिल्ली हुँदै मुम्बई लगिएको उनीमाथि कोठी नं. ७ मा राखेर जबरजस्ती ७ वर्षसम्म वेश्यावृत्तिमा लगाइएको थियो। उनलाई त्यहाँ रिता तामाङ नाम गरेकी नेपाली महिलाले भारतीय ८० हजार रुपैयाँमा किनेर राखेकी थिइन्।
टीबी रोग लागेपछि उनी २०५१ साल माघमा नेपाल फर्किएकी थिइन् र २०५२ साल फागुन १ गते प्रहरीमा उजुरी दिएकी थिइन्।
पछि मुद्दा काठमाडौं ल्याइएपछि २०७७ सालमा मानव बेचबिखन ब्युरोमा जिम्मा दिइएको थियो। त्यसै क्रममा अनुसन्धान गर्दा प्रहरी टोलीले २०८२ साल वैशाख ११ गते चमार तामाङलाई उनको घरबाट पक्राउ गरेको हो।
हाल उनलाई काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान गरिँदैछ।