२३ वैशाख ,काठमाडौं ।–काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केटबाट लाखौं रुपैयाँ बराबरका सामग्री चोरी गरी फरार भएका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।
भाटभटेनीको ग्रोसरी विभागबाट रक्सी, चुरोट, ड्राइ फ्रुट लगायतका सामान चोरेर भागेका दोलखा बैतेश्वर गाउँपालिका–२ निवासी ३७ वर्षीय बिमल श्रेष्ठलाई मंगलबार भक्तपुर ठिमी क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपील राज बोहराले जानकारी दिएका छन्।
श्रेष्ठले सोमबार चोरी गरेका सामग्रीहरूको मूल्य करिब २ लाख १७ हजार रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ। पक्राउपछि उनलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
पक्राउ परेका श्रेष्ठबाट बरामद सामग्रीमा ब्लु लेवल, ग्लेण्डफिडिच, ओल्ड दरबार ब्राण्डका रक्सी, स्याफ्रान, फिस वेल, सुर्य चुरोट, काजु, पिस्ता, र आलमण्ड जस्ता विभिन्न वस्तुहरू रहेका छन्।