२४ वैशाख,काठमाडौं । काठमाडौं जिल्ला प्रहरी परिसरले ४० लाख ३२ हजार ५ सय रुपैयाँको हुन्डी रकम सहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको कोलकत्ता निवासी ६७ वर्षीय सुरज दत्त, जो काठमाडौं महानगरपालिका-२३, ओमबहालमा बस्दै आएका छन्, र रुपन्देहीको देवदह निवासी ६३ वर्षीय धर्म प्रसाद ढकाल, जो चन्द्रागिरी नगरपालिका-१५, तिनथानामा बस्दै आएका छन्।
प्रहरीका अनुसार वैशाख २३ गते साँझ ६:१५ बजे विशेष सूचनाको आधारमा महानगरपालिका–२४ स्थित विशाल बजारको भुइँ तला क्षेत्रमा प्रहरीले खानतलासी गर्दा उक्त रकम बरामद भएको हो।
बरामद नगदमा १००० दरका ४,०२० थान नोट (रु. ४०,२०,०००) र ५०० दरका २५ थान नोट (रु. १२,५००) रहेका छन्।
यसबाहेक प्रहरीले दुईवटा मोबाइल फोन (सामसुङ A55 र सामसुङ A50), विभिन्न बचत तथा ऋण सहकारी संस्थाका २ थान हस्ताक्षरविहीन खाली चेक, १९ थान चेक र ११ थान पासबुक समेत बरामद गरेको छ।
प्रहरीले पक्राउ परेका दत्त र ढकाललाई थप अनुसन्धानका लागि नियन्त्रणमा राखेको जनाएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी अपील राज बोहराका अनुसार अनुसन्धान जारी रहेको छ।