२४ बैशाख भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानहरूमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली चोरी निकासी/पैठारी गरिएको करिब रु. ४ लाख ८१ हजार ४ सय बराबरको विभिन्न सामान बरामद गरेको छ।
बरामद सामानहरू आवश्यक कारबाहीको लागि पशु क्वारेन्टाइन चेकपोष्ट कार्यालय भैरहवा र भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद गरिएका सामानमा १८० थान जेन्स टिसर्ट, ४० थान साडी, ८० वटा जिउँदो बोइलर कुखुरा (२०० के.जी.), १२ बोरा चिनी (६०० के.जी.), ३ वटा मोटरसाइकल र एक जना व्यक्ति रहेका छन्। यी सामानहरू भन्सार छली गरेर नेपालतर्फ ल्याउन खोजिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुरज अधिकारीले प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा यी सामानहरू फेला पारेको जानकारी दिए। उनले अवैध सामानको ओसारपसारलाई नियन्त्रण गर्न प्रहरी टोली सधैं सक्रिय रहेको बताए।
प्रहरीले सीमावर्ती क्षेत्रमा नियमित अनुगमन र चेकजाँचलाई थप कडाइ गर्दै आएको छ। यसक्रममा विशेष गरी भारतबाट नेपालतर्फ चोरी पैठारी हुने सामानलाई नियन्त्रणमा लिन प्रहरीको सक्रियता रहेको प्रहरीले जनाएको छ।