२५ बैशाख,हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित पूर्व-पश्चिम लोकमार्गमा प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र. ०१-०३१ च ५०२२ नम्बरको यात्रुवाहक ईभी गाडीलाई जाँच गर्दा उक्त गाडीमा सवार रौतहट, मौलापुर नगरपालिका-९ निवासी ३२ वर्षीय सुनिल सिंह पटेललाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पटेलको साथमा रहेको गाडीको छतमा राखिएको रातो रंगको सुटकेस र झोलाभित्र लुकाइछिपाई ल्याइएको अवस्थामा ३,४४० ट्याब्लेट नाईट्राभेट, २,९५० क्याप्सुल ट्रामाडोल, ३८५ एम्पुल फेनार्गन, ३९५ एम्पुल नुफिन, र ३८७ एम्पुल डाईजेपाम फेला परेको थियो।
बरामद लागूऔषधसहित पटेललाई नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट लागूऔषधसम्बन्धी मुद्दामा सात दिनको म्याद अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।