७ जेठ,काठमाडौं । काठमाडौं महानगरपालिका–३२ बालकुमारीस्थित सडक खण्डमा प्रहरीले अवैध रूपमा ल्याइएका १६८ थान मोबाइल सेट बरामद गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौं अन्तर्गत प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले नियमित चेकजाँचको क्रममा ती मोबाइल सेटसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार भिभो ब्रान्डका ३० थान, सामसुङ २५, ओपो १७, रियलमी १६, रेड्मी १३, आइफोन १३, वान प्लस १०, मोटोरोला ६, नोकिया ३ र अन्य विभिन्न कम्पनीका ३५ थान गरी जम्मा १६८ थान मोबाइल सेट बरामद गरिएका छन्।
पक्राउ परेकामध्ये एक जना नुवाकोट जिल्ला, विदुर नगरपालिका–१३ घर भई हाल काठमाडौँको बाफलमा बस्दै आएका २४ वर्षीय शंखर श्रेष्ठ हुन् भने अर्का भक्तपुर नगरपालिका–२ निवासी २३ वर्षीय कुशल सिलपकार रहेका छन्।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (प्र.उ.) अपील राज बोहराका अनुसार, “मोबाइल सेटहरू भन्सार नतिरी गैरकानुनी रूपमा भित्र्याइएको आशंका गरिएको छ। हाल दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको छ।”
प्रहरीले अवैध कारोबारमा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा स्रोत पत्ता लगाउने कार्यलाई तीव्र बनाएको जनाएको छ।