७ जेठ,भक्तपुर । प्रहरी निरीक्षकको पहिचान बताउदै सर्वसाधारणलाई झुक्याउने एक युवकलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार पक्राउ पर्ने व्यक्ति भोजपुर साल्पासिलिछो गाउँपालिका–३ स्थायी घर भई हाल भक्तपुरमा बसोबास गर्दै आएका २३ वर्षीय सुजन गिरी हुन्।
गिरीले प्रहरी निरीक्षकको पोशाक लगाएको फोटो आफ्नो मोबाइलको वालपेपरमा राखी आफू प्रहरी निरीक्षक हुँ भनी सर्वसाधारणलाई झुक्याउँदै आएका थिए। मिति २०८२ जेठ ६ गते राति करिब ९:३० बजे मध्यपुर ठिमी नगरपालिका–२, दिब्यश्वरी नेवा भुटु रेस्टुरेन्ट अगाडिको सडक खण्डमा उनले अशान्ति फैलाएको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउपछिको प्रारम्भिक अनुसन्धानका क्रममा उनले प्रहरीको पहिचान दुरुपयोग गर्दै आएको पुष्टि भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए।
हाल उनलाई आवश्यक अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ।