• ट्रेण्डिङ :

सिआईबिकाे डिएसपी हुँ भन्दै ठगी गर्ने थापा पक्राउ

सिआईबिकाे डिएसपी हुँ भन्दै ठगी गर्ने थापा पक्राउ

cnewsnepal

बुधबार, जेष्ठ १४ २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


१४ जेठ,काठमाडौं । आफू नेपाल प्रहरी अन्तर्गतको केन्द्रीय अनुसन्धान ब्यूरो (सि.आई.वि.) को डिएसपी हुँ भन्दै जबरजस्ती करणीको मुद्दा मिलाइदिने बहानामा ८ लाख ४० हजार रुपैयाँ ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्ने व्यक्ति जिल्ला भक्तपुर, सूर्यविनायक नगरपालिका–२ बालकोट स्थायी घर भई हाल मध्यपुर ठिमी नगरपालिका–५ कमेरोटार बस्ने ४१ वर्षीय अनिल थापा हुन्।

केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको विशेष टोलीले प्राप्त गोप्य सूचनाको आधारमा खोजतलास गर्दै जाँदा थापालाई जेठ १३ गते कमेरोटार क्षेत्रबाट लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको हो।

थापाले आफू केन्द्रीय अनुसन्धान ब्यूरोको उपरीक्षक (डिएसपी) हुँ भनी जबरजस्ती करणीसम्बन्धी मुद्दा मिलाइदिने भन्दै पीडितसँग ८ लाख ४० हजार रुपैयाँ लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनलाई जिल्ला अदालत ललितपुरबाट सात दिनको म्याद थप गराई अनुसन्धान अगाडि बढाइएको छ।

उनको विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ अन्तर्गत दफा २४९ बमोजिम “ठगी गर्न नहुने” कसूरमा मुद्दा दर्ता गरिएको छ।

अनुसन्धानका क्रममा अनिल थापाविरुद्ध २०७५ सालमा पनि जिल्ला प्रहरी परिसर काठमाडौंमा ठगी र आपराधिक विश्वासघातको मुद्दा दर्ता भइसकेको पाइएको छ।

प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार, प्रहरीको नाम दुरुपयोग गरी नागरिकलाई ठगी गर्ने कार्यप्रति ब्यूरो गम्भीर छ र यस्ता कार्यमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गरिनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार