२३ जेठ,काठमाडौं । काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गा चेकपोस्टबाट करिब ४५ लाख रुपैयाँ बराबरको सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौं र लागुऔषध नियन्त्रण ब्यूरो शाखा नागढुङ्गाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा उनलाई नियन्त्रणमा लिएको हो।
काकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख ३१३९ नम्बरको यात्रुबाहक बसमा सवार भारतको वेस्ट बंगाल घर बताउने करिब ३१ वर्षीय महादेब सामन्तलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बाेहाेराले बताए ।
उनको साथबाट सुन जस्तो देखिने पहेँलो धातु ८ टुक्रा बरामद गरिएको थियो।
नेपाल रत्न तथा आभुषण संघ (NEGJA) को परीक्षणपछि ती टुक्रा २४ क्यारेटको शुद्ध सुन रहेको पुष्टि भएको छ।
सुनको कुल तौल २७४.८३ ग्राम रहेको र सोको बजार मूल्य आजको दर अनुसार प्रतिग्राम १६,६०६ रुपैयाँले गर्दा जम्मा रकम ४५ लाख ६३ हजार ८२६ रुपैयाँ बराबर पर्ने संघका महासचिव जयराम पाण्डेले जानकारी दिएका छन्।

बरामद गरिएको सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ। प्रहरीले महादेब सामन्तलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा राखेको जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपील राज बोहराका अनुसार घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।