चन्द्रागिरि, असार १५ – असारे गीत गाएर र दहीच्यूरा खाएर चन्द्रागिरि साहित्य सरेावरको नियमित ४४ औं श्रृंखला शनिबार सम्पन्न भयो।
मुनाल पुस्तकालयको प्रांगणमा आयोजित कार्यक्रम करिब चार घण्टा चल्यो, जहाँ ५५ जनाको उपस्थिति रह्यो र २२ जना स्रष्टाहरुले आफ्ना रचना वाचन गरे।
कार्यक्रमका प्रमुख आकर्षण असारे गीत र लोक भाकामा आधारित कविता प्रस्तुतिहरू रहे। कृष्ण बस्नेतले दुईवटा असारे गीत सुनाउँदै श्रोतामाझ उत्साह भरेका थिए भने सुभद्रा महत, कृष्ण घिमिरे, राजुप्रसाद लामिछाने, जगन्नाथ तिमिल्सिना, कृष्णबहादुर कार्की, श्रीकृष्ण भारती, सकुन्तला लुइटेल, नरनाथ लुइटेल, हरिशरण आचार्य, गेापीचन्द्र र प्रमुख अतिथि डा. वालचन्द्र मिश्रले आफ्ना रचना वाचन गरी कार्यक्रमलाई सांगीतिक र साहित्यिक रसले भरिपूर्ण बनाए।
त्यस्तै, स्थानीय प्रतिभा शोभा तामाङ र मन्जु कार्कीले काँठे भाकाका असारे गीत गाएर माहोललाई अझ रंगीन बनाए। कविता, गजल, मुक्तक र लघुकथाका माध्यमबाट वाल कवि साम्रागी आचार्य, कवि संगिता खरेल, तिलक गाउँले, विध्याकुमारी बज्राचार्य, ऋषिराम भुषाल, नानीबाबा अधिकारी, सकुन्तला कार्की, सुदन लुइटेल लगायतले आफ्नो सिर्जनात्मक योगदान दिए।
कार्यक्रमको सभापतित्व गेापीचन्द कार्कीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा डा. वालचन्द्र मिश्र र विशेष अतिथि नरनाथ लुइटेल रहनुभएको थियो। विमला महर्जनले संयोजन तथा सञ्चालन गरेका कार्यक्रममा उज्यालो सिकाइ केन्द्रकी आमा-दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको अन्त्यमा असार १५ लाई सम्झँदै परम्परागत असारे परिकार – दही, च्यूरा र पिरो आलुको तरकारी – सहभागीहरूलाई खुवाइएको थियो। उक्त खाजाको व्यवस्थापनमा सुभद्रा महत, सकुन्तला कार्की, सुदन लुइटेल र मथुरा राउतले आर्थिक सहयोग गरेका थिए।
साहित्य सरेावरको तर्फबाट सबै सहभागी स्रष्टा, अतिथि, सहयोगी संस्था तथा व्यक्तित्वहरूलाई नमन गरिएको छ। आगामी साउन महिनाको दोस्रो शनिबारमा हुने कार्यक्रमका लागि सबैलाई पुनः आमन्त्रण गरिएको छ।
तस्बिरहरू
