१३ कात्तिक, काठमाडौं । डा. केबी सम्राट र यबराज आचार्यको नेतृत्वमा सञ्चालन भइरहेको ‘राजनीतिक सनातन यात्रा’ ले देशमा बढ्दो कुशासन र भ्रष्टाचार अन्त्यका लागि प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीसहितको सनातन राष्ट्र घोषणा गर्नुपर्ने माग गरेको छ।
राष्ट्र संरक्षण सञ्चार संस्थाले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सर्वपक्षीय र सर्वदलीय सरकार गठन गरी नेपालको संविधान २०७२ संशोधन गर्नुपर्नेमा जोड दिएको हो।
संस्थाका संयोजक यबराज आचार्यले भने, “२०७२ सालको संविधान अवाञ्छित तत्वहरूको संलग्नतामा जारी गरिएको थियो। यही कारणले देशमा राजनीतिक अस्थिरता, कुशासन, दण्डहीनता र भ्रष्टाचार मौलाएको छ।” उनले थपे, “यो संविधानले कुनै पनि दललाई स्पष्ट बहुमत दिलाउन सक्दैन, जसका कारण गठबन्धन र सत्ताको कारोबार चलिरहेको छ।”
उनका अनुसार, वर्तमान संविधान संशोधन गरी वैदिक सभ्यतामा आधारित सनातन राष्ट्र घोषणा गरेमात्र देशमा स्थायित्व र समृद्धि सम्भव छ।
पत्रकार सम्मेलनमा आचार्यले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारलाई संविधान संशोधनबिना आगामी फागुन २१ गतेको निर्वाचनमा नजान चेतावनी समेत दिए।
उनका शब्दमा, “यदि यही संविधानका आधारमा निर्वाचन भयो भने पुनः त्यही कुशासन र भ्रष्ट प्रवृत्तिको पुनरागमन हुनेछ, जसले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्छ।”
संस्थाका सम्पादक डा. केबी सम्राटले भने, “राष्ट्रको अस्तित्व र अस्मिताको रक्षा गर्न अब युवापुस्ताले वैदिक मूल्यमा आधारित सनातन शासन प्रणालीको पहल गर्नुपर्ने बेला आएको छ।”
आयोजकहरूले चेतावनी दिँदै भनेका छन् — यदि मागहरू पुरा नभए ‘सनातन सिंदुर अपरेसन’ नामक नयाँ, शान्तिपूर्ण आन्दोलन सुरू गरिनेछ। उक्त अभियान मातृशक्तिको अगुवाइमा विना रक्तपात सनातनीहरूको रक्षा र राष्ट्रिय अस्मिताको पुनःस्थापनाका लागि हुने बताइएको छ।