• ट्रेण्डिङ :

गाँजा १०७४ किलोग्राम र अफिम २.७ किलोग्राम सहित ७ जना पक्राउ

गाँजा १०७४ किलोग्राम र अफिम २.७ किलोग्राम सहित ७ जना पक्राउ

cnewsnepal

मंगलबार, असार १७ २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौं । लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वर तथा क्षेत्रीय शाखा धनगढीबाट खटिएको प्रहरी टोलीले दुई छुट्टाछुट्टै अपरेसनमार्फत ठूलो परिमाणमा गाँजा र अफिम बरामद गर्दै सात जना व्यक्तिलाई पक्राउ गरेको छ।

ब्यूरोका अनुसार विशेष सूचनाको आधारमा मकवानपुर जिल्लाको कैलाश गाउँपालिका वडा नं. ५ कटहरे, पोखरीस्थित एक घरमा छापा मार्दा १०७४ किलोग्राम गाँजा बरामद गरिएको हो। घटनामा संलग्न ७३ वर्षीय हरीबहादुर वाईवा, ४८ वर्षीय बुद्धि बहादुर (बद्रि) पाख्रिन, ३४ वर्षीय अरुण गोले र १९ वर्षीय राजेन्द्र लामालाई पक्राउ गरिएको छ। उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पालुङ, मकवानपुरमा बुझाइएको छ।

त्यसैगरी लागु औषध नियन्त्रण ब्यूरो, धनगढी शाखाबाट खटिएको टोलीले कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. १ स्थितबाट २.७ किलोग्राम अफिमसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ३४ वर्षीय लोकेन्द्र शाही (हुम्ला सार्किघाट), २७ वर्षीय शालु शाही, तथा ३२ वर्षीया पूर्णिमा पुन मगर (रोल्पा) रहेका छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय सुक्खड, कैलालीमा बुझाइएको छ।

सह–प्रवक्ता प्रहरी नायब उपरीक्षक जिवन निरौलाका अनुसार, “देशभर लागू औषध विरुद्ध प्रहरीले तीव्र निगरानी र कडाइका साथ अपरेसन जारी राखेको छ। यस किसिमका ठूलो परिमाणमा बरामद भएका लागू औषधले आपराधिक गिरोहको क्रियाकलापमा गम्भीर झड्का पुगेको छ।”

उनीहरू उपर लागू औषध (नियन्त्रण) ऐन २०३३ अनुसार अनुसन्धान जारी रहेको ब्यूरोले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार