२२ वर्षअघि सिन्धुलीमा भएको जघन्य हत्या प्रकरणको मुख्य अभियुक्त केदार सिंह थापा पक्राउ परेका छन्। सन् २००४ (वि.सं. २०६० साल पुस ६ गते) मा रातिको समयमा धारिलो हतियार प्रयोग गरी पति–पत्नीको विभत्स हत्या गरी फरार रहेका थापा २२ वर्षपछि पक्राउ परेका हुन्।
प्रहरीका अनुसार उनले हत्या गरेपछि विभिन्न ठाउँमा लुक्दै दाङको लमही नगरपालिका वडा नं. ९, जलकुण्डीमा बसोबास गरिरहेका थिए। नेपाल प्रहरीले विशेष सूचनाका आधारमा उनलाई मिति २०८२ असार २३ गते पक्राउ गरेको हो।
के भयो त्यो रातमा?
साविक अरुणठाकुर गाविस वडा नं. ८ (हाल दुधौली नगरपालिका वडा नं. १३) निवासी रत्नबहादुर कार्की (४५ वर्ष) र उनकी श्रीमती दुर्गामाया कार्की (४५ वर्ष)को उनीहरूकै घरमा धारिलो हतियार प्रयोग गरी विभत्स ढंगले हत्या गरिएको थियो। शरीरका विभिन्न भागमा गहिरो चोटसहित मृत अवस्थामा फेला परेका उनीहरूका सन्तानहरूले तत्काल प्रहरीलाई खबर गरेका थिए।
घटनापछि मृतकका छोरा दुर्गा बहादुर कार्कीले जिल्ला उदयपुरका केदार सिंह थापाविरुद्ध किटानी जाहेरी दिएका थिए। तर अभियुक्त थापा घटना लगत्तै फरार भएका थिए।
एसपी सुवेदी भन्छन् – “२ दशकपछि पीडित परिवारलाई न्यायको आशा”
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले भने,
“यो हत्या प्रकरण सिन्धुली प्रहरीको लागि मात्र होइन, सम्पूर्ण प्रहरी संगठनका लागि चुनौतीपूर्ण अनुसन्धान थियो। फरार अभियुक्तलाई २२ वर्षपछि पक्राउ गर्न सफल हुनु हाम्रो लागि ठूलो उपलब्धि हो। अब पीडित परिवारले न्याय पाउने मार्ग खुलेको छ।”
उनका अनुसार अभियुक्तमाथि अनुसन्धान जारी छ र म्याद थप गरेर थप प्रमाण संकलन गरिँदैछ।
स्थानीयले मागे कडा सजाय
घटनामा संलग्न अभियुक्त पक्राउ परेको खबर सार्वजनिक भएसँगै स्थानीय बासिन्दा तथा पीडितका आफन्तले कडा सजायको माग गरेका छन्। एक स्थानीय नागरिकले भने, “२२ वर्षसम्म पीडित परिवारले न्यायको आशामा बितायो, अब दोषीलाई कडा कारबाही होस्।”
प्रहरीका अनुसार हाल अभियुक्त थापालाई जिल्ला अदालत सिन्धुलीबाट म्याद थप गराई हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको छ।