३१ असार,दाङ । कर्तव्य ज्यान र नकवजनी चोरी जस्ता गम्भीर आपराधिक अभियोगमा जन्मकैदको सजाय सुनाइएका तथा विगत करिब ८ वर्षदेखि फरार रहेका प्रतिवादी राजाबाबु बुढा मगरलाई प्रहरीले पक्राउ गरेको छ।
ईलाका प्रहरी कार्यालय गडवाले प्रहरी निरीक्षक डवल बहादुर बमको नेतृत्वमा खटिएको टोलीले मिति २०८२ साल असार ३० गते साँझ करिब ७:०० बजे दाङ जिल्लाको गढवा गाउँपालिका वडा नं. ०३, खैरेनीस्थित निजको घरबाट उनलाई पक्राउ गरेको हो।
उच्च अदालत पाटनले मिति २०७६ माघ २४ गतेको फैसलामार्फत राजाबाबु बुढा मगरलाई कर्तव्य ज्यान र नकवजनी चोरीमा दोषी ठहर गर्दै जन्मकैद (२० वर्ष १ महिना १५ दिन) कैद सजाय तोकेको थियो। अदालतको उक्त फैसलापछि फरार रहँदै आएका उनलाई प्रहरीले विशेष सूचनाका आधारमा लामो निगरानीपछि पक्राउ गर्न सफल भएको हो।
पक्राउ परेका राजाबाबु बुढा मगरले आफुलाई लामो समयसम्म चुनु भन्ने अर्जुन बुढा मगरको नामले परिचय दिँदै आएका थिए। तर, प्रहरी टोलीले स्थानीय जनप्रतिनिधि तथा बासिन्दाहरूसँगको सोधपुछका आधारमा उनको वास्तविक नाम खुलासा गर्न सफल भएको हो।
प्रहरीले पक्राउपछि आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै राजाबाबु बुढा मगरलाई अदालतमा पेस गरिसकेको जानकारी दिएको छ। पक्राउको क्रममा अदालतबाट २०८२।०३।३० मा जारी गरिएको पक्राउ पुर्जी समेत संलग्न गरिएको थियो।
प्रहरी स्रोतका अनुसार, प्रतिवादी राजाबाबु बुढा मगर दाङ जिल्ला, साविक गोबरडिहा गाविस वडा नं. ०९ (हाल गढवा गाउँपालिका वडा नं. ०३) निवासी हुन्। उनलाई दाङ जिल्ला अदालतको लगत नम्बर ३१८४ अन्तर्गत फरार प्रतिवादीको सूचीमा राखिएको थियो।
राजाबाबु बुढा मगर करिब दुई दशकसम्म फरार रहँदा उनले विभिन्न नाम र पहिचान प्रयोग गर्दै समाजमा सामान्य जीवन बिताइरहेका थिए। उनका नातेदार तथा चिनजानका व्यक्तिहरूसमेत उनी फरार जन्मकैदी हुन् भन्ने तथ्यबाट अनविज्ञ थिए भन्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
प्रहरी निरीक्षक बमको टोलीले पछिल्लो केही हप्तायता फरार प्रतिवादीहरूको खोजीमा विशेष सक्रियता देखाउँदै आएको छ। यस क्रममा विभिन्न स्रोत र सूचनाको समन्वय गर्दै गुप्त निगरानी र स्थलगत अनुगमनका आधारमा उनलाई पक्राउ गरिएको जनाइएको छ।
ईलाका प्रहरी कार्यालय गडवालका अनुसार, फरार प्रतिवादीहरूको खोजी कार्यलाई अझ प्रभावकारी बनाउने तयारी भइरहेको छ। प्रहरी प्रमुख बमले भने, “समाजमा यस्ता गम्भीर अपराधीहरू उन्मुक्तिमा रहनु न्यायिक प्रणालीमाथिको चुनौती हो। यस्तो अवस्थालाई अन्त्य गर्न हामी प्रतिवद्ध छौं।
राजाबाबु बुढा मगरको गिरफ्तारीले फरार जन्मकैदीसम्बन्धी मुद्दा समाधानतर्फ सकारात्मक संकेत दिएको छ। यो घटनाले लामो समयसम्म कानुनी कठघराबाट बच्न सफल अपराधीहरू पनि प्रहरीको निगरानीबाट टाढा रहन नसक्ने सन्देश दिएको छ।