३ साउन,काठमाडौं । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषध र हातहतियार सहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीको विशेष सूचनाका आधारमा गरिएको कारबाहीमा वीरेन्द्रनगर–८ कृष्णमन्दिरस्थितबाट वर्ष २३ काे विधान शाही र बर्ष २२ काे आधित्य घिमिरे लाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुधिर राज शाहीको नेतृत्वमा खटिएको टोलीले उनीहरूको शरीर र घरकोठा खानतलासी गर्दा एकथान टाईप ७७ पेस्तोल, दुईथान म्यागजिन, ६ राउण्ड पेस्तोलको गोली, ६ थान 9mm गोली बरामद गरेको छ।

त्यसका साथै चारथान खुकुरी, दुईथान चक्कु, एकथान बन्चरो, एकथान नाइटस्टिक, लागूऔषध ट्रामडाेल ८९९ ट्याब्लेट, नाईट्राजापाम ३६९ ट्याब्लेट, का ३० ट्याब्लेट, र स्पामाे १२८ ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ।

खानतलासीका क्रममा एकथान कैची र जरायोको सिङ्ग जस्तो देखिने संरक्षित वन्यजन्तुको अवशेष पनि फेला परेको छ। पक्राउ परेका दुबै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए।

प्रहरीका अनुसार उनीहरूमाथि लागूऔषध दुव्र्यसन, हातहतियार खरखजाना तथा वन्यजन्तु संरक्षण ऐन अन्तर्गत थप अनुसन्धान भईरहेको छ ।