वीरगञ्ज, पर्सा | पर्सामा शंकास्पद वस्तुसहित सात जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्। संयुक्त सुरक्षा टोलीले छुट्टाछुट्टै स्थानबाट शंकास्पद सामग्री बरामद गरेसँगै अनुसन्धानलाई तीव्र बनाइएको जनाएको छ।
मिति २०८२ फागुन १९ गते राति करिब १०:१० बजे पर्सागढी नगरपालिका–३ बडनिहार बजार क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त चेकिङ टोलीले हरपुरबाट बडनिहारतर्फ आउँदै गरेको बा.१० च १२५० नम्बरको गाडी जाँच गरेको थियो। जाँचका क्रममा गाडीको डिक्कीभित्र पहेँलो टेपले बेरिएको चौपाटे आकारको टिनको बाकसभित्र शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।
उक्त गाडीमा सवार चार जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–१७ बस्ने ४६ वर्षीय मनोज कुमार चौधरी (नेपाल कम्युनिष्ट पार्टी क्षेत्र नं. २ का उम्मेदवार), बारा प्रसौनी गाउँपालिका–४ का २६ वर्षीय सहाब आलम अन्सारी, धनुषाधाम नगरपालिका–९ का ३० वर्षीय सुरज कार्की र पर्सागढी–३ का ६८ वर्षीय सत्यनारायण थारु रहेका छन्।
यसैगरी, मिति २०८२ फागुन २० गते राति २:४५ बजे विशेष सूचनाका आधारमा वीरगञ्ज महानगरपालिका–१६ इनर्वागाउँबाट निर्वाचन लक्षित एकीकृत सुरक्षाकर्मीको संयुक्त टोलीले सुतली बम ९ थान, सुँगुरको टाउको १ थान तथा करिब १० मिटर वायरिङ तारसहित थप तीन जनालाई नियन्त्रणमा लिएको छ।
घटनाबारे जानकारी दिँदै मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) गोबिन्द थपलियाले भने,
“निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सुरक्षा निकाय उच्च सतर्कतामा छन्। शंकास्पद गतिविधिमाथि कडा निगरानी गरिएको छ। बरामद सामग्रीको प्राविधिक परीक्षण भइरहेको छ र संलग्न व्यक्तिहरूमाथि कानुनी प्रक्रिया अघि बढाइएको छ।”
त्यस्तै, जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ परेका व्यक्तिहरूमाथि विष्फोटक पदार्थ सम्बन्धी कसूर, सार्वजनिक शान्ति विरुद्धको कसूर तथा निर्वाचन सम्बन्धी कसूरअन्तर्गत अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइने जनाएको छ।
प्रहरीले सर्वसाधारणलाई कुनै पनि शंकास्पद गतिविधि देखिएमा तुरुन्त प्रहरीलाई जानकारी गराउन अपिल गरेको छ।