• ट्रेण्डिङ :

ट्रामाडोलसहित ४ जना पक्राउ, फरार अभियुक्त पुनः नियन्त्रणमा

ट्रामाडोलसहित ४ जना पक्राउ, फरार अभियुक्त पुनः नियन्त्रणमा

cnewsnepal

बुधबार, चैत्र १८ २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौं, चैत १८ । लागु औषध नियन्त्रण ब्यूरो ले काठमाडौंका विभिन्न स्थानबाट ठूलो परिमाणमा ट्रामाडोलसहित ४ जनालाई पक्राउ गरेको छ।

ब्यूरोको कोटेश्वरबाट खटिएको विशेष टोलीले चैत १७ गते सञ्चालन गरेको अपरेसनमा कुल ३५ हजार ५१६ क्याप्सुल ट्रामाडोल बरामद गरिएको जनाएको छ।

प्रहरीका अनुसार पहिलो कारबाहीमा काठमाडौं महानगरपालिका–२२ क्षेत्रबाट नुवाकोट शिवपुरी गाउँपालिका–६ घर भएका ३५ वर्षीय सुरेश तामाङलाई ३१ हजार ८०० क्याप्सुल ट्रामाडोलसहित नियन्त्रणमा लिइएको हो।

त्यसैगरी सोही दिन काठमाडौं–२२ स्थित गणबहालबाट दोलखा भीमेश्वर नगरपालिका–६ का २२ वर्षीय सञ्जिव घिसिङलाई १ हजार ९९६ क्याप्सुलसहित पक्राउ गरिएको छ।
यस्तै, काठमाडौं–११ सुन्धाराबाट धनुषा जनकपुरधाम उपमहानगरपालिका–८ का २२ वर्षीय सुरेन्द्र कुमार रौनियारलाई १ हजार १२० क्याप्सुलसहित र काठमाडौं–२१ भोटेबहालबाट काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–९ का २३ वर्षीय रोहित राना मगरलाई ६०० क्याप्सुलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले जनाएको अनुसार पक्राउ परेकामध्ये सुरेश तामाङ र रोहित राना मगर यसअघि पनि ट्रामाडोलसम्बन्धी मुद्दामा पक्राउ परेर अनुसन्धानकै क्रममा थिए। उनीहरू मिति २०८२ भदौ २४ गते भएको जेन जि आन्दोलन का क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं को हिरासतबाट फरार भएका थिए। फरार अवस्थामा रहेका उनीहरू पुनः लागू औषधसहित पक्राउ परेका हुन्।

पक्राउ परेका सबै व्यक्तिहरूमाथि लागु औषध (नियन्त्रण) ऐन, २०३३ (संशोधन सहित) बमोजिम मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालत बाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।

प्रवक्ता प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीले लागू औषध नियन्त्रणका लागि निगरानी र कारबाहीलाई अझ प्रभावकारी बनाइएको बताउँदै यस्ता अवैध गतिविधिविरुद्ध प्रहरीको अभियान निरन्तर रहने स्पष्ट पारे ।

प्रतिक्रिया
सम्बन्धित समाचार