घर लुटपाट गर्ने योजना बुन्दाबुन्दै पक्राउ

 अच्युत रेग्मी
काठमाडौँ, २३ भदौ । काठमाडौँको बौद्दमा एक घरमा लुटपाट गर्ने योजना बुन्दै गरेको अवस्थामा प्रहरीले आठजनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको विशेष टोलीले बौद्दको एक घरमा ठूलो मात्रामा नगद तथा गरगहना रहेको सूचनाको आधारमा लुटपाटको योजना बनाइरहेको अवस्थामा शनिबार साँझ आठ जनालाई काठमाडौँ महानगरपालिका–१६ माछापोखरीबाट पक्राउ गरेको हो ।
पक्राउ पर्ने गोरखा अजिरकोटका कुशल अधिकारी, नुवाकोट तारकेश्वरका रामबहादुर तामाङ, नुवाकोट विदुरका धर्मराज तामाङ र पिटर तामाङ गुल्मी इस्माका युवराज भण्डारी, रसुवा छोदिङ्मोका योर्साङ घले, धादिङ खनिबासका विजय तामाङ र नुवाकोट तारकेश्वरका राजन तामाङ पक्राउ परेका छन् ।
पक्राउ परेकासँग प्रहरीले दुई थान चाइनिज पेस्तोल, सोको म्यागजिङग दुई थान, सोको गाली चार राउण्ड, नक्कली सुन एक किलोग्राम, फलाम काट्ने औजार एक थान, लुटिएको पर्स, एटिएम कार्ड र मोबाइल दुई थान, मोटरसाइकल चार थान र पक्राउ परेकाले बोक्ने मोबाइल नौ थान बरामद गरेको छ ।
परिसरले आज पत्रकार सम्मेलन गरी काठमाडौँ महानगरपालिका–१६ स्थित हाई रेष्टुरेन्ट एण्ड डान्सबारमा लुटपाटको योजना बुन्दाबुन्दै पक्राउ गरिएको जानकारी दिएको हो ।


पत्रकार सम्मेलनमा परिसरका प्रहरी उपरीक्षक अशोक सिंहले भदौ १९ गते नवलपरासी बर्दघाटका सुन व्यापारी योगेश विश्वकर्मालाई गोँगबुस्थित मुस्ताङ गेष्टहाउसको ४०४ नम्बरको कोठामा लुटपाट गर्ने समूह रहेको बताउनुभयो । “सुन व्यापारी विकले दिएको निवेदनका आधारमा प्रहरीको टोलीले अनुसन्धान गर्दै जाँदा उनीहरुलाई पक्राउ गर्न सफल भएका हौँ,”–उहाँले भन्नुभयो ।
विकको दुई लाखभन्दा बढी लुटिएको जाहेरीका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो । सिसि क्यामरा र निवेदनका आधारमा अनुसन्धान गर्दै जाँदा आठजनालाई पक्राउ गरेको परिसले जनाएको छ ।
प्रहरीले सुरुमा युवराज भण्डारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै जाँदा बाँकी व्यक्तिलाई पक्राउ गर्न सफल भएको सिंहले बताउनुभयो । पक्राउ परेका पाँचजना हाई रेष्टुरेन्ट एण्ड डान्सबारका सञ्चालक भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका अधिकारी भगौडा सेना हुन् । उनी यसअघि पनि नक्कली नोट र नक्कली सुन कारोबारमा पक्राउ परेका थिए । यस्तै भण्डारी सशस्त्र प्रहरी बलका बहालवाला सिपाही हुन् ।
परिसरका प्रवक्ता, प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले नक्कली सुनलाई सक्कली भनेर किन्न बोलाउने र उनीहरुसँग भएको नगद तथा गरगहना लुट्ने गरेको बताउनुभयो ।
पक्राउ परेकाले बोक्ने पेस्तोल चालू अवस्थामा रहेको छ । “विशिष्ट खालको पेस्तोल र गोली बोकेका छन्, पेस्तोल कसरी पाए भन्नेबारे अनुसन्धान जारी छ,”–बोगटीले भन्नुभयो । नेपाल प्रहरीले पनि उही खालको पेस्तोल बोक्ने गरेकोमा पेस्तोल कहाँबाट आयो भन्नेबारे अनुसन्धान भइरहेको छ ।