१५ साउन, काठमाडौं । शुक्रबार महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले अवैध रुपमा मदिरा उत्पादन गरी बिक्री गरेको अभियोगमा काठमाडौंबाट एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–२६ ठमेल बस्ने चिनियाँ नागरिक ५६ वर्षीय सी झीवेईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका चिनियाँ नागरिक लामो समयदेखि नेपालमा बसेर अवैध काम गर्ने गरेको खुलेको छ।
अवैध रुपमा मदिरा उत्पादन गरी बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियाे । सरकारी अनुमतिबिना ‘चिनियाँ कोदोको शुद्ध लोकल रक्सी’ नामक मदिरा उत्पादन गर्ने गरेका चीनको जियाङ्गसु प्रान्त घर भएका सिजि झीवेईलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धानको क्रममा जिहुईले पाँचतले घर भाडामै लिएर (लोकल) घरेलु मदिरा उत्पादन गर्दै आएको खुलेको छ।

पर्यटन भिसामा नेपाल आएका जिहुईले लोकल रक्सी उत्पादन कारखाना चलाएको महानगरीय अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुवेर खापुङले बताए। उनले भने, ‘ती चिनियाँ नागरिकले मेसिन नै राखेर चिनियाँ लोकल रक्सी अवैध रूपमा रक्सी उत्पादन गरिरहेका थिए।’

ठमेलमा होम स्विट स्मेल होटल एण्ड रेष्टुरेन्ट प्रालि दर्ता गरी अवैध मदिरा उत्पादन गरी बिक्री वितरणको लागि तयार पारेको अवस्थामा फेला पारी पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
उक्त होटलबाट चार वटा स्टिलको मेसिन, मदिरा जम्मा गर्ने ट्याङ्की, मदिरा तौल गर्ने मेसिन, मदिरा उत्पादनमा प्रयोग हुने ८० लिटरका १ सय १३ थान ड्रममा रहेका कच्चा पदार्थ र बिक्रीको लागि तयार पारिएको मदिरा समेत प्रहरीले बरामद गरेको छ ।
अवैध लोकल रक्सी सञ्चालन गरिएको मदिरा कारखानामा छापा मारेर प्रहरीले करिब १० हजार लिटर मदिरा बरामद गरेको छ। बरामद मदिरा आन्तरिक राजस्व कार्यालयलाई थप अनुसन्धान र कारवाहीका लागि बुझाइने महाशाखाले जनाएको छ।