३१ साउन, काठमाडौं । प्रहरीले “अपरेशन यार्सागुम्बा” सञ्चालन गरि म्हैपीमा ७ दिनअघि भएको यार्सागुम्बा लुटपाटमा संलग्न गिरोहलाई पक्राउ गर्न सफल भएको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखा बानेश्वरको टोलीले मुख्य अभियुक्त बझाङका धर्म ओखेडासहित ७ जना लुटेराको समूहलाई पक्राउ गरेको एसपी कृष्ण पंगेनीले बताए ।
उनका अनुसार खरिद गर्ने वहानामा दिपक लामा र सुरेश सापकोटासँग रहेको एक किलो यार्सागुम्बा उनीहरुले लुटेको भन्दै प्रहरी समक्ष उजुरी परेको थियो ।
जाहेरीमाथि अनुसन्धानका क्रममा पक्राउ परेकाको साथबाट ७ किलो ७ सय ४० ग्राम अवैध यार्सागुम्बा बरामद भएको छ ।
जिल्ला सिन्धुपाल्चोक बारबिसे नगरपालिका वडा नं. ३ घर भई हाल का.जि. बौद्द बस्ने दिपक लामा, जिल्ला सिन्धुपाल्चोक बलेफी गाँउपालिका वडा नं. ६ घर भई हाल का.जि. स्वयम्भू बस्ने सुरेश सापकोटालाई १ किलो यार्सा गुम्वा रु. २८,००,०००।– मा खरिद गर्छु भनी गणेश शाहीले फोन गरेका थिए । गणेश शाहीले सुरेश सापकोटालाई १ किलो यार्सा गुम्वा खरिद गर्छु भने पछि काठमाण्डौंको नयाँ बसपार्क मित्रनगरमा रहेको होटेलमा बोलाई सुरेश सापकोटा र दिपक लामाले बिक्री गर्नको लागी झोलामा लिई गएको १ किलो यार्सा गुम्बा ६/७ जना अपरिचित व्यक्तिहरुको समुहले डर, धाक, धम्की दिई लुटि लगी फरार भएको भने सुचना प्रहरी सामुह पुग्दछ ।

घटनाको सम्बन्धमा यस महाशाखाबाट खटिएको अनुसन्धान टोलिले मिति २०७८।०४।३० गते उक्त घटनामा संलग्न मूख्य योजनाकार तथा मतियारहरुलाई समेत काठमाण्डौंको बिभिन्न स्थानहरुबाट पक्राउ गरी १,५३,०००।– नगद तथा उक्त यार्सा गुम्बाको कारोवारमा संलग्न मोहम्मद अलिको छोरा मोहम्मद ईसाकलाई समेत ७ के.जी. ४४० ग्राम यार्सा गुम्बा सहित पक्राउ गरी थप अनुसन्धान कार्य गरिरहेको छ ।
।