काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउँदै अरूको निजी जीवनको बारेमा युट्युबमा राख्ने शर्मिला वाइबा पक्राउ परेकी छिन् ।
काठमाडौंमा उजुरी परेको थाहा पाएपछि भागेर सिन्धुपाल्चोक पुगेकी उनी बाह्रविसेवाट पक्राउ परेकी हुन् ।
काठमाडौं प्रहरीको अनुरोधमा उनलाई बाह्रबिसेबाट पक्राउ गरिएको सिन्धुपाल्चोक बाह्रविसेका प्रहरी निरीक्षक देबेन्द्र जोशीले जानकारी दिए ।
काठमाडौंमा उजुरी परेको थाहा पाएपछि भागेर वाइबा सिन्धुपाल्चोक पुगेकी थिईन । कलाकार खतिवडाले आफूमाथि कुटपिट भएको भन्दै वाइबाविरूद्ध प्रहरी वृत्त महाराजगन्जमा जाहेरी दिएका थिए। कुटपिट गर्न नहुने कसुरमा खतिवडाले जाहेरी दिएका थिए।
हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ की श्रीमती सुम्निमा खालिङले आफूलाई पवनले श्रीमतीको रूपमा घरमा पनि नराखेको र डिभोर्स पनि नदिएको आरोप लगाएकी थिइन् ।त्यसपछि शर्मिला वाइबालगायतले ‘म्याकुरी’लाई कुटेका थिए । एक युवतीलाई गर्भवती भएको नाटक गर्न लगाएर शर्मिलाले पवनलाई ब्ल्याकमेलिङ गरेको आरोप छ । सो भिडिओ देखाएर शर्मिलाले २५ लाख रुपैयाँ बार्गेनिङ गरेको म्याकुरीले आरोप लगाएका थिए ।
शर्मिलामाथि सीसीटीभी फुटेज दूरुपयोग गरेको समेत आरोप छ । अनुसन्धानको क्रममा सम्बन्धित अधिकारीले बाहेक अरूले सीसीटीभीको गोप्य फुटेज हेर्न, सार्वजनिक गर्न पाइँदैन ।
तर, शर्मिलाले पवनको भिडिओ युट्युबबाट सार्वजनिक गरेकी थिइन् । ‘म्याकुरी’को घर झगडा प्रहरीमा पनि पुगेको थियो । तर, पछि सोसल मिडियामा छताछुल्ल भएको हो ।
केही दिनअघि शर्मिला वाइबा, पवन खतिवडा ‘म्याकुरी’की पत्नी सुम्निमा खालिङ र बहिनी गंगा पवन बसेको घरभित्र गएर उनीमाथि हातपात गरेका थिए ।
वाइबाले युट्युबमार्फत् विभिन्न व्यक्तिहरुको मानमर्दन र चरित्र हत्या गर्दै आएकी छन् । उनी सिन्धुपाल्चोकबाट पक्राउ परेकी हुन्। उनलाई काठमाडौं ल्याइँदैछ।