५ जेठ,काठमाडौं । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीस्थित एक किराना पसलमा बसेका बलिन्द्र प्रकाश राईको हत्यामा संलग्न पाँच जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, मिति २०८२।०१।३० गते राति करिब १० बजे राईलाई गम्भीर घाइते बनाइएपछि उपचारका क्रममा उनको मृत्यु भएको थियो।
घटनामा संलग्न पाँच जना अभियुक्तहरूलाई प्रहरीले फरार सूचीमा राखी खोजी गरिरहेकोमा विभिन्न मितिमा पक्राउ गरिएको हो।
पक्राउ परेका अभियुक्तहरूमा रामेछापको सुनापती गाउँपालिका–४ घर भइ हाल काठमाडौं, गोकर्णेश्वर नगरपालिका–१ बस्ने २९ वर्षीय प्रविण तामाङ, सर्लाहीको बाग्मती गाउँपालिका–३ घर भइ गोकर्णेश्वर नगरपालिका–२ बस्ने २३ वर्षीय समिर वाईवा तामाङ, तथा अभिसेक वाईवा तामाङ, दिपेन्द्र भुजेल, र अनुराग तामाङ रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी अपील राज बोहराका अनुसार, पक्राउ परेका पाँचै जना अभियुक्तलाई सम्मानित काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको छ। घटनाबारे विस्तृत अनुसन्धान प्रहरी वृत्त बौद्धले गरिरहेको जनाएको छ।