दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका–६ मा खुकुरी प्रहार गर्ने घटनामा संलग्न पाँच जना पक्राउ परेका छन् ।
महेन्द्र मा.वि.को पछाडिको चौरमा श्री सेन्टर माध्यमिक विद्यालयका विद्यार्थीहरूले खसी कप फुटबल खेल्ने क्रममा विद्यार्थीहरूबीच झगडा भएको थियो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीका अनुसार खेल सकिएपछि बसन्त परियारको समूहले बिहान करिब १०:३० बजे स्याउली बजारस्थित सडकमा भेटिएका आयुष बिक (१८), बिनोद बिक (१८) र प्रबेश योगी भन्ने बिपिन (१८) माथि धारिलो खुकुरी प्रहार गरी घाइते बनाएको बताए ।
घाइतेमध्ये आयुष बिक र प्रबेश योगीलाई गम्भीर घाइते भएका कारण नेपालगञ्ज शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
उक्त घटनामा संलग्न रहेका पाँच जनालाई तुलसीपुर–४ रक्षाचौरस्थित जंगलमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
डिएसपी ठकुरीका अनुसार पक्राउ पर्नेहरूमा तुलसीपुर–५ बसपार्कका नबिन राना (१९), तुलसीपुर–६ गोलौराका बसन्त परियार (१८), राजेश परियार (१८), नबिन सुनार (१८) र जीवन बिक (१८) रहेका छन् ।
प्रहरीले उनीहरूबाट १ फिट लामो धारिलो खुकुरी, ८.४ इञ्च लामो खुकुरीको दाब र फुटेको कालो रङको हेल्मेट बरामद गरेको जनाएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ ।