काठमाडौं । लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरले लागू औषधविरुद्ध सञ्चालन गरेको विशेष अपरेशनमा खैरो हेरोईन, कोकिन र ट्रामाडोलसहित ११ जनालाई पक्राउ गरेको छ।
ब्यूरोको प्रशासन शाखाका अनुसार आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत सञ्चालन गरिएको अपरेशनका क्रममा २०८२ चैत ३० गतेदेखि २०८३ वैशाख ४ गतेसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रेस विज्ञप्तिअनुसार अपरेशनका क्रममा ७९ ग्राम खैरो हेरोईन, ३३ ग्राम कोकिन र १२,६०० क्याप्सुल ट्रामाडोल बरामद गरिएको छ।
तीन फरक अपरेशनमा पक्राउ
पहिलो अपरेशन अन्तर्गत ७९ ग्राम खैरो हेरोईनसहित ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा इलाम देउमाई नगरपालिका–७ का २८ वर्षीय सुजन पाख्रिन, झापा गाउँपालिका–४ का मिनकुमार चाहार र शिवसताक्षी नगरपालिका–४ का ४० वर्षीय भगवती राई (आशिष) रहेका छन्।
दोस्रो अपरेशन मा ३३ ग्राम कोकिनसहित ४ जनालाई पक्राउ गरिएको छ। गोरखा पालुङटार नगरपालिका–९ का २७ वर्षीय सुनिल लामा, झापा मेचीनगर नगरपालिका–९ का ३१ वर्षीय विवेक गौतम तथा भारतका उदयपुर भूपालपुरा थाना–२९ का २७ वर्षीय हर्षित डाँगी र राजस्थान जयपुर आदर्शनगरका ३९ वर्षीय मानिक गुलाटी पक्राउ परेका हुन्।
तेस्रो अपरेशन अन्तर्गत १२,६०० क्याप्सुल ट्रामाडोलसहित ४ जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा नुवाकोट विदुर नगरपालिका–८ का २८ वर्षीय अनिल तामाङ, काभ्रेपलाञ्चोक चौरी देउराली गाउँपालिका–२ का २२ वर्षीय प्रदीप थापा मगर, नुवाकोट लिखु गाउँपालिका–४ का २३ वर्षीय सरोज राई र मनाङ डिस्याङ गाउँपालिकाका २६ वर्षीय सुमन गुरुङ रहेका छन्।
ब्यूरोका सह–प्रवक्ता प्रहरी नायव उपरीक्षक जीवन निरौलाका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ।