• ट्रेण्डिङ :

चोरीको मोटरसाइकलसहित दुई युवा ट्राफिक प्रहरीको नियन्त्रणमा, थप एक स्कुटर पनि बरामद

चोरीको मोटरसाइकलसहित दुई युवा ट्राफिक प्रहरीको नियन्त्रणमा, थप एक स्कुटर पनि बरामद

cnewsnepal

शुक्रबार, जेष्ठ ९ २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


९ जेठ,काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ स्थित सरकारी धाराबाट मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा परेका व्यक्ति मकवानपुर बसामाडी घर भएका २८ वर्षीय सरोज लामा र सिन्धुली मरिण गाउँपालिका–८ का १९ वर्षीय क्षितिज रनपहेली रहेका छन्।

उनीहरू बा ९१ प ९८६५ नम्बरको मोटरसाइकलमा हिँडिरहेको अवस्थामा फेला परेका थिए। अनुसन्धानका क्रममा उक्त मोटरसाइकल वास्तवमा बाग्मती प्रदेश ०२–०४१ प ८६०० नम्बरको भएको पुष्टि भएको छ। यो मोटरसाइकल काठमाडौँ कपन निवासी डालीकृष्ण पौडेलको हो, जसले बैशाख २५ गते चुच्चेपाटीबाट हराएको भन्दै निवेदन दिएका थिए।

सोधपुछका क्रममा उनीहरूले अर्को स्कुटर बा ६० प ७१५४ समेत चोरी गरी गोकर्णेश्वर नगरपालिका–२ नाम्गेलमा लुकाई राखेको स्वीकारेपछि प्रहरीले सो स्कुटरसमेत बरामद गरेको छ।

दुबैजनालाई थप अनुसन्धानका लागि प्रहरी वृत्त मालिगाउँ पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए। उनले सवारीसाधन सुरक्षित स्थानमा पार्क गर्न, विभिन्न किसिमका लकहरू प्रयोग गर्न र एकान्त स्थानमा पार्क नगर्न सबैलाई अनुरोध गरे। साथै, हराएका सवारी साधन खोजतलास कार्य निरन्तर जारी रहेको उनले जानकारी दिए।

सवारी हराएमा ट्राफिक प्रहरीको हटलाइन १०३ वा नेपाल प्रहरीको हटलाइन १०० मा तुरुन्तै सम्पर्क गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन पनि गिरीले आग्रह गरेका छन्।

 

प्रतिक्रिया
सम्बन्धित समाचार