१२ भदौ,काठमाडौं । प्रहरी प्रभाग नागढुङ्गाले राजविराजबाट काठमाडौं तर्फ आउँदै गरेको यात्रुबसमा गरिएको चेकजाँचका क्रममा ठूलो मात्रामा लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।
चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गा चेकप्वाइन्टमा बा.प्र.०१-००६ ख ७६२० नम्बरको यात्रुबस रोकी चेकजाँच गर्दा सप्तरी, राजविराज नगरपालिका–११ बस्ने १८ वर्षीय संजय कुमार यादवलाई लागुऔषधसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
यादवले आफूसँगको झोलामा लुकाइछिपाई ११७० एम्पुल लागुऔषध ल्याएको अवस्थामा पक्राउ गरिएको हो। बरामद लागुऔषधमा डायाजेपाम ३९० एम्पुल, प्रोमेथाजिन ३९० एम्पुल र बुप्रेनोर्फिन ३९० एम्पुल रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका यादवलाई लागुऔषध नियन्त्रण ऐन अन्तर्गत आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोटमा बुझाइएको छ।