• ट्रेण्डिङ :

नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त

नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त

cnewsnepal

मंगलबार, साउन १२ २०८३
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौँ। बहुप्रतीक्षित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको भव्य उद्घाटन भइरहँदा मुलुकको प्रमुख ढुवानी प्रणाली सम्हाल्दै आएका हजारौँ मालवाहक व्यवसायीका प्रतिनिधि भने ओझेलमा पारिएका छन्। नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका राष्ट्रिय अध्यक्ष राजेन्द्र विक्रम बानियाँलाई सरकारले उद्घाटन समारोहको औपचारिक निमन्त्रणा (पत्र) समेत नदिएपछि यातायात क्षेत्रमा गम्भीर असन्तुष्टि चुलिएको छ।

​काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने मुख्य नाकामा निर्माण भएको यो सुरुङमार्गले सबैभन्दा ठूलो राहत र सुविधा मालवाहक सवारी साधनहरूलाई नै पुर्‍याउने अपेक्षा गरिएको छ। तर, दिनरात सडकमा खटेर देशका कुनाकाप्चासम्म अत्यावश्यक वस्तु आपूर्ति गर्दै आएका हजारौँ ट्रक व्यवसायीका छाता सङ्गठनका अध्यक्षलाई नै बेवास्ता गरिनुलाई सरकारको विभेदकारी र अदूरदर्शी कदमका रूपमा हेरिएको छ।

​स्रोेतका अनुसार, नागढुङ्गाजस्तो रणनीतिक राजमार्ग र ढुवानीको मुख्य मार्ग जोडिएको आयोजनाको उद्घाटनमा व्यवसायीका प्रमुख नेतृत्वलाई औपचारिक खबरसम्म नगरिनुले राज्य संयन्त्रको कार्यशैलीमाथि प्रश्न उठाएको छ। “सुरुङमार्ग प्रयोग गर्ने र यसको प्रत्यक्ष सरोकारवाला नै मालवाहक सवारी हुन्, तर तिनै व्यवसायीको राष्ट्रिय नेतृत्वलाई सरकारले पूर्ण रूपमा बेवास्ता गर्यो,” महासङ्घ सम्बद्ध एक व्यवसायीले आक्रोश व्यक्त गरे।

​यसरी मुख्य सरोकारवाला संस्था र तिनका नेतृत्वलाई उपेक्षा गर्ने सरकारी परिपाटीले समग्र यातायात तथा ढुवानी क्षेत्रमा नकारात्मक असर पर्ने देखिएको छ। निजी क्षेत्र र व्यवसायीहरूसँग सहकार्य गरेर अघि बढ्नुपर्नेमा सरकारले एकांकी ढङ्गले काम गर्दा यातायात नीति, शुल्क (टोल ट्याक्स) निर्धारण तथा आगामी दिनमा सुरुङमार्ग सञ्चालनका क्रममा आउन सक्ने व्यावहारिक जटिलताहरू सुल्झाउन कठिन हुने व्यवसायीहरूको भनाइ छ।

​महासङ्घ स्रोतका अनुसार सरकारको यस्तो उपेक्षापूर्ण व्यवहारप्रति व्यवसायीहरूले गम्भीर आपत्ति जनाएका छन्। राज्यका पूर्वाधार विकासमा सधैँ सकारात्मक सहयोग गर्दै आएको ढुवानी क्षेत्रलाई उपेक्षा गरिँदै लगिएमा आगामी दिनमा सरकार र व्यवसायीबीचको दूरी अझ बढ्ने र यसले यातायात क्षेत्रमा दूरगामी असर पार्ने चेतावनी समेत दिइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार