१९ चैत, ललितपुर । ललितपुर महानगर नजिकै रहेको महालक्ष्मी नगरपालिका–७ चांगाथलीस्थित ग्रिन सिटि भिला नामक अपार्टमेन्टबाट प्रहरीले नौ लाखभन्दा बढी नगदसहित २१ जना जुवाडेलाई पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले उक्त अपार्टमेन्टमा छापा मारेको थियो। छापा मार्ने क्रममा सिन्धुपाल्चोक घर भएका ३२ वर्षीय दीपक बोहोराले सञ्चालन गरेको भवनको दोस्रो तलामा मोहनकृष्ण शाहीले भाडामा लिएको कोठामा कौडा तथा तास खेलिरहेको अवस्थामा उनीहरूसहित २१ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनास्थलबाट नगद रु. नौ लाख सात हजार नौ सय पचहत्तर रुपैयाँ र ३९ बुक तास र १६ थान कौडा बरामद गरिएको छ।
पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि प्रहरी वृत्त सातदोबाटोमा राखिएको छ। प्रहरीले जुवातास तथा कौडा खेलाउने गतिविधिविरुद्ध निगरानी बढाइएको समेत जनाएको छ।