५ जेठ,झापा, बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–५ बाट प्रहरीले तीन करोड ६१ लाख बराबरको अवैध सामानसहित तीन वटा भारतीय कन्टेनर नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भारतबाट काँकरभिट्टा हुँदै नेपाल भित्रिएका तीन वटा कन्टेनरहरू एनएल ०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एन ७४८६ नम्बरका छन्। ती कन्टेनरहरूलाई बिर्तामोड–५ स्थित पूर्व–पश्चिम लोकमार्गबाट नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक प्रविण श्रेष्ठले गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ती कन्टेनरहरूमा चेकजाँच गर्दा तीन करोड ६१ लाख बराबरको ट्र्याक कम्बाइन हार्भेस्टर विद स्ट्र ‘कलेक्सन’ र अन्य सामानहरू अवैध रूपमा भन्सार छलेर ल्याइएको पुष्टि भएको जानकारी दिनुभयो।
बरामद सामान र कन्टेनरहरूलाई आवश्यक कानुनी कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको प्रहरीले जनाएको छ।